logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

बाबुरामको पार्टी फुटाउने ओलीको चलखेल


  • राजनीति
  • सोमबार, मंसिर १५ २०७७

भर्खरै एकीकरण भएर बनेको जसपाभित्र पनि भित्रभित्रै पार्टी विभाजनको गृहकार्य सुरू भएको छ । जसपा उच्च स्रोतकाअनुसार त्यसका लागि जसपाका केही सांसदहरु प्रधानमन्त्री केपी ओलीको नियमित सम्पर्कमा छन् ।

नेकपा विभाजन भएमा जसपा पनि फुट्ने निष्कर्षमा जसपाकै नेताहरु पुग्न थालेका छन् । नेकपा विभाजनको अवस्थामा जसपाका सांसदहरु पनि अलग पार्टी बनाएर सरकारमा जानेसम्मको तयारीमा लागेको ती नेताको दाबी छ ।

उनले जसपाका केही नेता प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहेको बताउँछन् । उनले पार्टीका १० सांसद पार्टी फुटाउने विषयमा प्रधानमन्त्रीसँग छलफलमा रहेको ती नेताको दाबी छ ।

जसपाकै नेता गंगानारायण श्रेष्ठले भने पार्टी विभाजका लागि कसैले तयारी गरिरहेको विषयमा औपचारिक जानकारी नभएको बताए । अहिले त्यस्तो औपचारिक जानकारी त छैन । अरे अरेका कुरा सुन्नमा आइराखेको हो,” श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने ।

यसअघि पनि नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा जसपा विभाजन गराउन खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि लागेको थियो । त्यसका लागि ओली निकट सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीका सांसद डा।सुरेन्द्र यादवलाई घरबाटै ‘अपहरण’ गरेर काठमाडौं ल्याएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको तरङ्ग प्रतिपक्षी दल जनता समाजवादी पार्टीमा पनि देखिएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद फुटसम्म पुग्ने चर्चा चलिरहँदा जसपाको एकीकरण प्रक्रिया नै प्रभावित हुन पुगेको छ ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीको केन्द्रीय र संघीय परिषद् गठन भइसकेको छ । तर स्थानीय, प्रदेश र जिल्ला तहको समायोजनको प्रक्रिया बाँकी नै छ ।

मंसिर मसान्तभित्र समायोजन सक्ने भन्दै तल्लो तहमा केन्द्रले परिपत्र नै पठाएको थियो । तल्लो तहका पार्टी समिति र भ्रातृसंस्था समायोजन कसरी गर्ने परिपत्रमा प्रष्ट व्यवस्था गरिए पनि सोअनुसार समायोजन अघि बढ्न सकेको छैन ।

शीर्ष नेताहरु कोरोनाभाइरसबाट संक्रमित हुँदा समायोजन प्रक्रिया सुस्त देखिएको जसपाका नेता गंगानारायण श्रेष्ठ बताउँछन् । “हामीले यही मंसिर मसान्तभित्रमा सबै समायोजनका काम सम्पन्न गर्ने भनेका थियौं ।

समायोजनको जिम्मा लिएका अधिकांश नेताहरुलाई कोरोना भएका कारणले अलिकति गति ढिला भयो । तर, काम भइरहेको छ,” उनले भने ।उनले कोरोनाका कारण प्रभावित बनेको समायोजन प्रक्रियाले अब गति लिने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार