logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

ओलीलाइ पेलेरै ४ निर्णय, केपीको नोटअफ डिसेन्ट


  • राजनीति
  • आइतबार, मंसिर २१ २०७७

निकै बिबादास्पद बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बैठक बस्न र निर्णय गर्ने बिषय नै टुंगोमा पुर्याउन नसक्दा झन् अन्यौल बढ्दै गएको छ । पछिल्लो समीकरण बाट निकै रुष्ट र अतालिएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विरोधका बाबजुद पनि केही सामन्य निर्णय गर्दै अघि बढेको छ। हिजो शनिबारको बैठकसम्म आउँदा नेकपाले ओलीको नोट अफ डिसेन्टका बाबजुद पनि महत्वपूर्ण निर्णयहरु गर्दै अघि बढेको हो।

३ दिनमा गरिएका ४ निर्णय यस्ता छन

मंगलबार – ओलीको असहमतिबीच गत बिहीबार बैठक आह्वान। मंगलबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको असहमतिबीच अर्को दिन बुधबार सचिवालय बैठक आह्वान गरेको थियो। मंगलबारको सचिवालय बैठकमा ओलीले केही दिन अनौपचारिक छलफल गरेर मात्र औपचारिक बैठक बस्नुपर्ने प्रस्ताव गरेका थिए । १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्नुपर्ने उनको अडान थियो। तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यहरूले छलफल, सहमति, असहमति र निर्णयका सबै प्रक्रिया बैठकबाटै मात्र गर्नुपर्ने अडान राखे। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार नै सचिवालय बैठक बोलाउने निर्णय गरेका थिए। आफ्नो असहमतिबीच बुधबार सचिवालय बैठक बोलाइएपछि ओलीले सहभागी नहुने जानकारी गराएका थिए।

बुधबार – ओली अनुपस्थित बैठक, निर्णय पनि। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी नभए पनि बुधबार अध्यक्ष प्रचण्डसहित सचिवालयका आठ सदस्यको बैठक बस्यो। बैठकले बिहीबारका लागि पहिला नै तय भएको स्थायी कमिटी आइतबार सार्ने निर्णय गर्‍यो। त्यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय लिएको थियो। बैठकपछि वरिष्ठ नेता खनालले ओलीको अनुपस्थितिमा पनि पार्टी बैठक बस्ने र निर्णय लिन सक्ने उदाहरण स्थापित भएको प्रतिक्रिया दिएका थिए।

शनिबार – ओलीको असहमतिबीच प्रस्ताव स्थायी कमिटीमा। आंशकाबीच शनिबार सचिवालय बैठकमा ओली उपस्थित भए। तर, उनको असहमतिबीच बैठकले आइतबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ र कार्यसूचीसमेत तय गरेको छ। बैठक अगाडि ओली र प्रचण्डबीच केहीबेर ‘वान अन वान’ छलफल भएको थियो। ओली र प्रचण्डबीच २६ दिनपछि शनिबार ‘वान अन वान’ संवाद भए पनि कुनै सहमति भने हुन सकेन। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा दुवै अध्यक्षका प्रस्ताव र पत्रहरू छलफल गर्ने तयारी छ। यता, शनिबारको सचिवालय बैठकमा पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान दोहोर्‍याउँदै त्यसलाई लिएर स्थायी कमिटीमा जान नसकिने अडान राखेका थिए। तर, सचिवालयमा अरू सबै सदस्य सहमत भएपछि दुवै प्रस्ताव अघि बढेका छन्।

शनिबार – कार्यदल बनाउने ओलीको प्रस्ताव पनि अस्वीकार। दुई अध्यक्षको प्रतिवेदन समेटेर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावलाई सचिवालय बैठकले अस्वीकार गरेको छ। दुवै प्रस्तावलाई एक बनाउन कार्यदल बनाउने प्रस्ताव रामबहादुर थापा बादलले राखेका थिए। त्यसलाई समर्थन गर्दै ओलीले वामदेव गौतमलाई संयोजक बन्न पनि प्रस्ताव गरेका थिए। महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले पनि यो प्रस्तावलाई समर्थन गरेका थिए। तर, सचिवालयका अरू सदस्यसहित स्वयं गौतमले पनि यो प्रस्तावलाई अस्वीकार गरे। गौतमले अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजानुपर्ने र त्यहीँबाट निर्णय गर्नुपर्ने अडान राखेपछि ओलीको प्रस्ताव अस्वीकृत भयो। उनले आफूसमेतको समर्थनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन ल्याएको स्पष्ट पारेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार