राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका माहासचिव समेत रहेका अर्थमन्त्रि बिष्णु पौडेलले अहिले सम्म पार्टीको विवाद समाधान हुन नसकेको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा उनले औपचारिक वा अनौपचारिक संवाद र छलफलका शृंखलाहरू चलेपनि केहि प्रगति नभएको उल्लेख गर्दै यस्तो बताएका हुन्। उनले नेकपा अब जुट्ने तिर भन्दा फुट्ने तिर गएको आसयको धारणा व्यक्त गरेकाहुन ।
अध्यक्षद्वयकै तहमा पनि छलफल भएको छ, अन्य नेताहरूको तहमा पनि छलफल भएको छ । स्थायी कमिटीकै जिम्मेवार साथीहरू पनि आपसी छलफलमा हुनुहुन्छ । छलफलका अनेकन शृंखला चलेका छन् र समस्या समाधानका प्रयास भएका छन् उनले भने ।
पार्टीलाई बिर्सेर गुट याद गर्ने मानसिकता कम्युनिस्ट आन्दोलनमा वेलावेलामा देखा पर्ने गरेको छ । यो गुटबन्दीको महारोगले हाम्रो आन्दोलन वेलावेलामा गम्भीर रूपमा प्रभावित पनि हुने र फुट सम्म पुग्ने अवस्था आएको पौडेलको भनाई छ ।
पार्टीको विकल्प गुट यसअघि पनि कहिल्यै भएन र अब पनि हुनेछैन । पार्टीरूपी समुद्र छँदाछँदै गुटरूपी पोखरीमा पौडी खेलेर रमाउने गल्ती कसैले पनि गर्नुहुँदैन । त्यसो नगर्नुस् भन्ने मेरो आग्रह हो ।
अन्तिम विकल्प के ?
हाम्रो निकट विगतकै अनुभव हेर्नुहुन्छ भने शीर्ष नेतृत्व तहमा समाधान नभएका विषयमा कार्यदल बनाएर समाधान गरेका छौँ । अघिल्लोपटक हामीले भदौ २६ गते ऐतिहासिक महइभ्वको निर्णय गर्यौँ ।
त्यो निर्णयको पृष्ठभूमिमा हेर्दा नेताहरूको बीचमा जुन किसिमको समस्या भयो, त्यो समाधान गर्न एउटा कार्यदल बन्यो । ६ सदस्यीय सो कार्यदलको नेतृत्व मैले नै गरेको थिएँ । कार्यदलले सघन छलफल गरेर एउटा प्रस्ताव तयार ग¥यो ।
कार्यदलको प्रस्तावलाई नै स्थायी समितिले पारित गर्यो, अर्थात् कार्यदलको प्रस्ताव नै निर्णयमा बदलिएको थियो । त्यसो हुँदा नेताहरूको तहमा समाधान नभएको विषय त्यसभन्दा तल्लो तहबाट समाधान हुँदैन भन्ने होइन । त्यो हुन सक्छ ।
यो पार्टीको भविष्यप्रति र पार्टीका माध्यमबाट देश र जनताको भविष्यप्रति पार्टीका तमाम नेता तथा कार्यकर्तालाई चिन्ता छ । त्यो तहको चिन्ता, चासो र संगठित पहलले नै पार्टीका चुनौतीपूर्ण समस्याहरू समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ ।
प्रस्तावको कार्यसूची छैन
यसअघि बसेको पार्टीको स्थायी समितिको बैठकको कार्यसूची ‘पार्टीको आन्तरिक समस्या’ थियो । हामीले कुनै प्रतिवेदन वा कसैका प्रस्तावलाई बैठकको कार्यसूची नै बनाएका छैनौँ । पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने कार्यसूची छ ।
पार्टीको आन्तरिक समस्याका बारेमा एउटा अध्यक्षको एक खालको विश्लेषण होला, अर्को अध्यक्षको अर्को विश्लेषण होला, अन्य पदाधिकारी तथा स्थायी समितिका सदस्यहरूको पनि फरक–फरक धारणा होलान् ।
पार्टी किन यो तहको समस्यामा आइपुग्यो भन्ने विषयमा सबैका फरक–फरक धारणा हुन सक्छन्, त्यो बैठकमा प्रस्तुत गर्न पाइन्छ । तर, फेरि पनि म भन्छु, अहिले जारी स्थायी समितिको एजेन्डा ‘पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्या’का बारेमा हामी सबैले आफूलाई लागेका कुरा राख्छौँ ।