राजनीति
नेकपा (क्रान्तिकरी माओवादीका)का महासचिव मोहन वैद्य किरणले सत्ताधारी पार्टीले आफूलाई क्रान्तिकारीको नाममा क्रान्तिलाई धोका दिएको आरोप लगाएका छन्। चार दलको रणनीतिक कार्यगत एकता घोषणा सभामा वैद्यले आवश्यक परे अर्को युद्ध गर्न तयार रहेको उद्घोष पनि गरे।
‘आवश्यक परे फेरि अर्को युद्ध गर्न तयार छौँ। यस्तो भन्दा मानिसले पत्याउँदैनन्। हिजो राणा ढल्दैन भन्थे पञ्चायत ढल्दैन भन्थे राजा ढल्दैन भन्थे तर ढले। संसदीय व्यवस्था असफल भएको छ। अब संसदीय व्यवस्थाले काम गर्दैन। दक्षिणपन्थी संसोधनवादको पनि असफलता हो,’ उनले भने।
संसद विघटनपछि देशमा बाह्य चलखेल बढ्दै गएको उनको भनाई थियो। ‘एमसीसी पास गराउन लागि रहेका छन्। क्रान्तिको झण्डा ढलेको छैन। हामीले बोकेका छौँ,’ वैद्यले भने,’विप्लव नेकपा माथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस्। पक्राउ नेता कार्यकर्ता लाई तुरुन्त खारेज होस। मुद्दाहरु राजनीतिक हुन्। राजनीतिक रुपमा समाधान होस्।’
उनले आफूहरु मात्र क्रान्तिकारी भएको दाबी गरे। आफूलाई क्रान्तिकारी भन्ने सत्ताधारी पार्टीका नेताहरु नक्कली कम्युनिस्ट भएको उनको भनाई छ। वैद्यले भने, ‘खाटि कम्युनिस्ट को हो ? ओली जी आफूलाई सक्कली भन्दै प्रचण्ड माधव नेपाल समूहलाई नक्कली भन्छन्।’
उनले अगाडि भनेका छन्, ‘फेरि हामी के भन्छौँ भने उनीहरु दुवै नक्कली हुन। सक्कली कम्युनिस्ट भन्ने जनताका जनजीविकाका समस्या हल नगर्ने, जनजीविकाका कुरा उठाउनेलाई प्रतिबन्ध लगाउने।’ वैद्यले आफ्नो मुद्दा वर्तमान राज्यसत्तालाई ढालेर वैज्ञानिक समाजवाद भएको बताए।
उनले मोर्चाको पहिलो प्राथमिकता वर्तमान राज्यसत्ताको अन्त्य भएको बताए। वैद्यले भने, ‘मोर्चाको पहिलो प्राथमिकता संसदिय व्यवसथा ढलाएर जनताको राज्य सत्ताको स्थापना र वैज्ञानिक समाजवाद स्थापना हो। त्यसका लागि हामी प्रतिवद्ध छौँ।’