logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको बिज्ञप्तीपछि सरकार बोल्यो : प्रतिबन्ध तुरुन्तै हट्दै !


  • राजनीति
  • आइतबार, फाल्गुन ९ २०७७

विप्लव नेकपाको निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएको छ । अहिलेको तरल राजनीतिक परिस्थितिमा स’शस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु सरकारप्रतिको विश्वासका रूपमा लिएका छौँ । त्यो विश्वासअनुसार सरकार अगाडि बढ्न तयार छ । अहिलेसम्म वार्ताबारे नीतिगत निर्णय गरिसकेका छैनौँ, आन्तरिक रूपमा चलिरहेको गृहकार्यलाई विभिन्न कारणले अहिले नै सार्वजनिक गर्न मिलेन । वातावरण सकारात्मक दिशामा नै अगाडि बढ्ने मलाई विश्वास छ ।

वार्ताका लागि सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण : नेत्रविक्रम चन्द विप्लव, महासचिव, नेकपा

हाम्रो क्रा’न्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।

तीन सत्ताको परिणाम

करिब तीन साताको सन्देश आदानप्रदानपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारका मन्त्रीहरूसँगको अनौपचारिक गृहकार्य र संवादपछि विप्लवले शनिबार विज्ञप्तिमार्फत सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको सन्देशसहित विज्ञप्ति जारी गरेका छन् ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको पछिल्लो धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरू सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । तर, त्यसका लागि सरकारसँग सहज रूपले गतिविधि र कार्यक्रम गर्न पाउने गरी वातावरण बन्नुपर्ने सर्त विप्लवले अगाडि राखेका छन् ।

विज्ञप्तिमा प्रस्ट नखुलाए पनि शान्तिपूर्ण रूपमा आम जनसमुदायमा सहज रूपमा गतिविधि गर्न पाउनुपर्ने उल्लेख गरेर विप्लवले वार्ताका लागि दुई हुनुपर्ने सन्देश दिएका छन् । ‘हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि २८ फागुन ०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता अनौपचारिक स्तरमा सरकार–विप्लव समूहबीच छलफल चले पनि औपचारिक वार्ता भने सुरु हुन सकेको छैन । डेढ वर्षअघि सरकारले विप्लव नेकपा सहित स’शस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी रहेको बेग्लै वार्ता समिति नै बनाएर गृहकार्य अगाडि बढाएको थियो । तर, सफल नभएपछि ६ महिनाकै बीचमा समिति भंग गरिएको थियो ।

विप्लव नेकपाको निर्णयलाई विश्वासका रूपमा टिप्पणी गर्दै सरकारले स्वागत गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सशस्त्र आ’न्दोलनरत सबै समूहलाई शान्तिपूर्ण मूल धारको राजनीतिमा ल्याउने लक्ष्यमा रहेका कारण सरकार विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि तयार रहेको बताए ।

‘विप्लव नेकपाको निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएको छ । हामी उहाँहरूको वक्तव्यलाई हार्दिक स्वागत गर्दछौँ । अहिलेको तरल राजनीतिक परिस्थितिमा स’शस्त्र आ’न्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुने कुरालाई हामीले सरकारप्रतिको विश्वासका रूपमा लिएका छौँ । त्यो विश्वासअनुसार सरकार अगाडि बढ्न तयार छ र हामी छलफल गर्दै अघि बढ्छौँ,’ प्रवक्ता गुरुङले भने ।

गुरुङले विप्लव नेकपासँग अनौपचारिक तहमा कुराकानी भइरहेको संकेत गर्दै छलफलमा बस्ने क्रममै के गर्ने भन्ने निर्णय हुने भएकाले छलफल सकारात्मक दिशामै अगाडि बढ्ने संकेत गरे । ‘अहिलेसम्म हामीले वार्ताका बारेमा नीतिगत निर्णय गरिसकेका छैनौँ, के गर्ने भन्ने कुरा छलफलमा बसेपछि नै निर्णय हुने कुरा भएकाले आन्तरिक रूपमा चलिरहेको गृहकार्यलाई गोपनीयतालगायत विभिन्न कारणले अहिले नै सार्वजनिक गर्न मिलेन’ गुरुङले भने, ‘तर, सश’स्त्र गतिविधिमा रहेका सबैखाले समूहलाई शान्तिपूर्ण मूल धारमा ल्याउन प्रयास गर्दै आउने क्रममा सिके राउत समूहलाई वार्तामार्फत नै शान्तिपूर्ण मूल धारको राजनीतिमा ल्याउन सरकार सफल भएको छ । हामी विप्लवलाई पनि शान्तिपूर्ण प्रतिस्पर्धाको मूल धारको राजनीतिमा ल्याउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ । वातावरण सकारात्मक दिशामा नै अगाडि बढ्ने मलाई विश्वास छ ।’

मन्त्री थापाको पहलपछि १८ दिनमा विप्लवको वक्तव्य

खानेपानीमन्त्री मणि थापाले सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई नख्खु जेलमै पुगेर भेटेको १८ दिनपछि महासचिव विप्लवले विज्ञप्ति जारी गरेर प्रतिबन्ध फुकुवा भए वार्तामा बस्न तयार रहेको जनाउ दिएका छन् । मन्त्री थापाले ओलीसँग गत २० माघमा जेलमा भेटवार्ता गरेका थिए । थापाले वार्ताका लागि सरकारले गृहकार्य गरिरहेको र विप्लव नेकपाको वार्ताप्रतिको प्रतिबद्धता खोजेको बताए ।

भेटपछि मन्त्री थापाले सुदर्शनलगायतका नेताहरू आफ्नो पुरानो मित्र भएको भन्दै व्यक्तिगत भेटघाट मात्रै भएको बताएका थिए । ‘सुदर्शनलगायतका साथीहरूसँग भेटघाट भएको कुरा साँचो हो, उहाँहरूसँग सामान्य व्यक्तिगत कुराकानी भएको हो,’ उनको भनाइ थियो, ‘उहाँहरूको पार्टीको बारेमा भने मलाई त्यति धेरै जानकारी छैन, विप्लव, प्रकाण्ड, धर्मेन्द्रलगायतका नेताहरू मेरो निकै पुरानो साथीहरू भएको कारण भेटघाट हुने कुरा सामान्य हो ।’

सरकारले विप्लव नेकपासँग छलफलको प्रयास गरिरहेको भए पनि आफूलाई कुनै औपचारिक जिम्मेवारी भने नदिइएको थापाले बतााएका थिए । ‘उहाँहरूको राजनीतिक सेटलमेन्ट जरुरी छ भन्ने मलाई पनि लागेको छ, सरकारले पनि त्यसबारेमा प्रयास थालेको बुझेको छु,’ मन्त्री थापाले भनेका थिए, ‘तर, म वार्ताका लागि आधिकारिक रूपमा तोकिएको व्यक्ति भने होइन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार