logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

पदाधिकारी र स्थायी समिति भंग गर्ने तयारीमा माओवादी


  • राजनीति
  • शुक्रबार, साउन १८ २०८१

सत्ताबाट बहिर्गमन गरेको एक महिनामै नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संरचनामा रहेका विभिन्न समितिहरू भंग गर्ने तयारी गरेको छ। विशेष महाधिवेशन गर्ने उद्देश्यले पदाधिकारी र स्थायी समिति विघटन गर्ने योजना नेताहरूले बताएका छन्।

महाधिवेशन सम्पन्न भएको तीन वर्ष र पदाधिकारी चयन भएको दुई वर्ष नपुग्दै माओवादीले ती समितिहरू विघटन गर्ने निष्कर्षमा पुगेको हो।

माओवादीमा हाल पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, आयोग, विभाग र प्रदेश गरी आठवटा संरचना रहेका छन्।

२२ सदस्यीय पदाधिकारीसहित ४३ जना स्थायी समिति सदस्य र ४०७ जना केन्द्रीय सदस्य प्रतिस्पर्धाबिनै चुनिएका थिए। २०७८ पुस ११ देखि १८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मात्र निर्वाचित गरेको थियो।

२०७९ माघ २५ गते माओवादीले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो, जसमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, छ उमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष थिए।

अब माओवादीले केन्द्रीय समिति कायम राखेर अन्य समितिहरू भंग गर्ने तयारी गरेको छ। आगामी साउन २५ गते बोलाइएको स्थायी समिति बैठकबाट सो निर्णय अनुमोदनको तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए। त्यसपछि केन्द्रीय समिति बैठकले त्यसबारे अन्तिम निर्णय गर्नेछ। माओवादीमा हरेक निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार