राजनीति
काठमाडौं । नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ ।
नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धीस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते संघीय तोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको दश वर्ष पूरा भएकाले यस वर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्यताका साथ मनाउन नेपाल सरकारले तयारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले आगामी असोज २,३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोग र जनस्तरमा समेत दिपावली लगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीय रुपमा मनाउन मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।
बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ । दिवसका क्रममा असोज ३ गते काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुनेछ भने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।