logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माग विदेशसम्म भए पछी पोखरामा उत्पादित मकैको खोस्टाको मुढा


  • रासस
  • सोमबार, साउन ६ २०७६

पोखरा- पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालीम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराई बताउछिन ।

“हामीले यस उद्योगबाट विभिन्न तालीम प्रदान गर्छौँ । तर पछिल्लो समय मकैको खोस्टाबाट बनाइएको मुढाको माग बढ्न थालेपछि यही तालीमलाई हामीले निरन्तरता दिँदै आएका छौँ”, भट्टराईले भनिन, “अहिले लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना र पद्मावती हस्तकलाको सहकार्यमा ३० जनाको टोलीलाई दुई हप्ताको तालीम दिइसकेका छौँ । लगत्तै अर्को टोली पनि इच्छुक भएर माग गर्नुभयो । यसलाई पनि निरन्तरता दिएका छौँ ।”

‘फेन्सी’ सामानले बजारमा हस्तकलाको व्यापार घटाइरहेको भन्ने कतिपय कुरामा पूरै सहमत छिन उद्यमी भट्टराई । उनका अनुसार मानिसका चाहना एकै किसिमका हुँदैनन्, सबैले फेन्सी तयारी सामान मात्रै मन पराउँछन् भन्ने लाग्दैन । अहिले प्राकृतिक र हस्तकलाका सामग्रीको बजार राम्रो हुँदै गएको छ ।

“बजारमा पाइने तयारी मुढालाई बाहिरबाट विनारङरोगन मकैका खोस्टाको बुनाइले छोपिन्छ र आकर्षक बनाइन्छ । यो प्राकृतिक पनि देखिन्छ ।” अहिले नियमित छ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

मकैको खोस्टाको मुढाको पछिल्लो समय विभिन्न होटलबाट आउन थालेको पद्मावती कोशेली घरका बजार व्यवस्थापक पूर्णिमा रिजालले बताइन । “हामीलाई काठमाडौँबाट ५० मुढाको ‘अर्डर’ आएको छ । केही समय मागेका छौँ । यसका साथै पोखरा लेकसाइडका होटल घरमा र विदेशमा रहेका नेपालीको रोजाइमा पनि यो यस्तो मुढा पर्ने गरेको छ ।” यस प्रकारको मुढालाई धेरै नेपालीले विभिन्न देश पुर्उयाने गरेको उनको भनाइ छ । दुईदेखि साढे तीन केजीसम्मको तौल हुने भएकाले विदेश लान चाहनेलाई त्यति गाह्रो नहुने उनले बताइन ।

छ महीनादेखि मुढा बनाउँदै आएकी हीरा कुँवर आयआर्जनको राम्रो माध्यम भएको बताउछिन । “मैले पद्मावतीबाट तालीम लिएँ र अहिले सिकाउँदै आएकी छु, व्यावसायिकरूपमा मुढा बुन्दै आएकी छु ।” एउटा मुढा बनाएबापत रु एक हजार ज्याला पाउने उनको भनाइ छ । “घरको काम सबै सकेर बचेको समयमा मात्रै बनाउँछु, दुई तीन दिन लाग्छ । जति जाँगर चलायो उत्ति कमाइ हुन्छ नि !” तालीम लिइरहनुभएकी पोखरा महानगरपालिका वडा नं १४ काजी पोखरीकी ४४ वर्षीया लीला थापा तालीमपश्चात् यही सीपलाई व्यवसायमा परिणत गर्ने सोच भएको बताउछिन । “मैले पहिलोचोटि यो तालीम लिएकी हूँ, अब यसलाई व्यासायिकरूपमा अघि बढाउने सोच बनाइरहेकी छु ।”

झाडु कुचोको सानो पसल गर्दै आएकी मुना गुरुङले तालीमपश्चात पसलमा मुढा बनाएर बेच्ने बताइन । “तालिमले अब एउटा सीप दिएको छ । अब आफ्नो व्यवसायमा यो अर्को उत्पादन थप्छु ।” ‘फिनिसिङ’ नभएको सामान बिक्री गर्न गाह्रो हुने र त्यसलाई आर्कषक बनाउन थप मेहनत जरुरी हुने गुरुङले बताइन ।

“मकैको खोस्टाबाट बनाएका मुढा हीरा भट्टराईको फेसबुकवालमा देखेपछि निकै आकर्षक लाग्यो तुरुन्तै उहाँसँग सम्पर्क गरेर छ वटा मुढा र छ वटा चकटी लगेर गएँ”, लायन्स क्लब अफ पोखरा गण्डकीका निर्वतमान अध्यक्ष मोना थापाले भनिन, “घरमा आउने पाहुनाले मुढा निकै मन पराएर सोधीखोजी गर्नुहुन्छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार