राजनीति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति भएको छ।
शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन्।
भेडा मर्दा करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए।
सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन्। लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन्।
एक वटा भेडाको मूल्य १५ हजारदेखि रु २५ हजारसम्म छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए।
घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ।
पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन्।