logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छलफलका लागि तयार छौँ पोखरा मेयर जिसी, मेयर नै वार्तामा बस्नुपर्छ-१० वडाध्यक्ष गुरुङ


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

पोखरा- काँग्रेसका जनप्रतिनिधिले महानगरको मुलगेटमा लगाएको ताला खोले वार्ता छलफल गर्न आफू तयार रहेको बताएका छन् ।
शुक्रबार महानगरमा पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ‘विरोधका नाममा शत्रुतापूर्ण वातावरण बनाउनु जरुरी छैन,’ ‘मुलगेटको ताला खोल्नुस्, छलफलका लागि हामी तयार छौँ ।’

बजेट विनियोजन गर्दा आफूहरूले कुनै पनि विभेद कांग्रेसका जनप्रतिनिधिले भने झैँ नगरेको उनले स्पष्ट पारेका छन् । ‘हामीले बजेट बनाउँदा चुनावका लागि लोकप्रिय हुन्छौँ भनेर बनाएका होइनौँ,’ उनले भने, ‘चुनावमा भोट लोकप्रियताका आधारमा होइन, कसले नेतृत्व गर्न सक्छन् भनेर पोखरेलीले बुझिसकेका छन्।’ प्रतिपक्षी जनप्रतिनिधिले भनेझैँ गरेर आफूले यो वर्षको बजेटमा थप नगर्ने उनले स्पष्ट पारे। काँग्रेसले नेतृत्व गरेका वडामा समेत बढी बजेट गएको उनको भनाइ थियो।

नगरसभा कार्यक्रममा कुर्सी फालिएको तथा रेडबुक च्यातेर जनताको मतको अपमान गरिएको उनले बताए । प्रतिपक्षले उठाएको आवाज स्वागतयोग्य रहेको र मागलाई अबको तीन दिनमा समाधान गर्न पहल भइरहेको उनले जानकारी दिएका छन्।

यता पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले भने समस्या समाधानका लागि मेयर जिसी नै वार्तामा बस्नुपर्ने माग गरे। समस्याको समाधान नभए सानो गेटमा समेत ताला लगाउने कुरा भएको तर जनप्रतिनिधि भएको नाताले आफूले भने नागरिकको हितका लागि लगाउने नहुने कुरा उठाएको र यो विषयमा छलफल भइरहेको उनले बताएका छन् । समस्याको समाधान नभएसम्म ताला नखोल्ने उनले स्पष्ट पारेका छन् । ‘मेयरले नै हामीलाई सम्बोधन गर्नुपर्छ, होइन भने सानो गेटमा पनि ताला लगाउने विषयमा छलफल भइरहेको छ,’ उनले भने।

यसअगाडि बिहीबार महानगरपालिकाको मुलगेटमा काँग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले बजेट बाँडफाँडमा विभेद भएको भन्दै तालाबन्दी गरेका थिए । बजेट पारित गर्दा बहुमतको दम्भमा बलजफ्ती गरिएको र आफ्नो भनाई राख्न समेत आफूहरुलाई नदिएको उनीहरु आरोप रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार