पोखरा – अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पोखराको लेकसाईडमा शनिबारदेखि सुरु हुने सडक महोत्सवको तयारी पुरा भएको छ। बिहिवार पोखरामा पत्रकार सम्मेलन बोल्दै आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान)का अध्यक्ष भीमसेन भुजेलले महोत्सवको सबै तयारी सकिएको बताए। महोत्सव ५ दिनसम्म चल्ने छ।
पर्यटनका लागि यो समय अफ सिजन हो। अफ सिजनमा पनि पर्यटक बोेलाएर चहलपहल बढाउन वर्षेनी नयाँ वर्षमा रेवानले महोत्सव गर्दै आएको छ।
महोत्सवको उद्घाटन पर्यटनमन्त्री योगेश भट्टराईले गर्नेछन्। लेकसाईडको ३ किलोमिटर क्षेत्रमा हुने महोत्सव ५ लाख दर्शकले हेर्ने आयोजकको दाबी छ। यसपटकको महोत्सवमा भारतीय तथा पाकिस्तानका सांस्कृतिक समूह, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुने रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ २१ वर्ष अघिदेखि महोत्सव हुँदै आएको छ। यसअघि नेपाल भ्रमण वर्षको आधिकारिक शुभारम्भसमेत यहीँबाट हुने भनिएपनि सरकारले दशरथ रंगशालाबाट शुभारम्भ गर्दैछ। यद्यपि नयाँ वर्षकै दिन प्रदेश सरकारले विशेष कार्यक्रमसहित भ्रमण वर्षको आरम्भ गर्ने तयारी गरिरहेको छ।