राजनीति
पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले ११ बजेको अपडेटमा बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना गरी ३२ पुगेको जानकारी गराएको हो ।
नयाँ थपिएका संक्रमित मध्ये पर्वतका ५ जना स्वास्थ्यकर्मी हुन । पर्वत अस्पतालमा कार्यरत ३ जना महिला र २ जना पुरुष स्वास्थ्यकर्मी छ्न ।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछी पर्वत अस्पताल बन्द गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा सात जना मध्य पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको हो । पर्वत अस्पतालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिदै आकस्मिक सेवा बाहेक सवै सेवा बन्द गरिएको जानकारी दिएको हो ।
कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्वास्थ्यकर्मीलाई समेत सङ्क्रमण देखिएपछि जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी गराएका छन ।
तनहुँमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि
तनहुँमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनीहरु सबै सिमाक्षेत्रबाट उद्धार गरिएका नागरिक हुन् ।
घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २७, २४, २९ वर्षीया ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको छ ।
बागलुङमा थप १० जनामा कोरोना
बागलुङमा थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्रबार बागलुङको बागलुङ नगरपालिकामा ५ जना र ढोरपाटन नगरपालिकाका ५ जना गरी जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।