जिल्लाको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु उनको बाध्यता हो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा रोजगारीका लागि भारतमा गएका छन्। बुवा घरमा नभएपछि आमाले मात्र दैनिक ज्याला मजदुरी गरेको पैसाले घरखर्च नचलेपछि उनी पनि बालुवा चालेर पैसा कमाउन थालेकी हुन्।मिना बुढाथोकीले आजको अन्नपुर्णपोष्टमा लेखेका छन ।
आफूले बालुवा चालेर कमाएको पैसा उनका तीन जना भाइबहिनीको पालनपोषणमा खर्च गर्ने गरेको पिमीको भनाइ छ। ‘स्कुल पढ्न त मन थियो, तर के गर्नु पढाउने कोही छैन, बालुवा चाल्दै भाइबहिनीको धरालो लाग्नुपर्छ,’ उनले भनिन्, ‘मेरो दुई बहिनी पढ्छन्, तर मैले कान्छो भाइको हेरचाह गर्र्नुपर्ने भएकाले स्कुल जान पाउँदिन।’
बनगाडको नवज्योति आधारभूत विद्यालय, ज्यामिरे अँधेरी र महादेव आधारभूत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जनौं बालबालिका विद्यालय समयपछि कुपिण्डेतालको बगरमा बालुवा चाल्छन्। अन्धेरीकी ११ वर्षीया विमला बूढाले कापीकलमको जोहो गरी स्कुल पढ्नकै लागि बालुवा चाल्ने गरेको बताइन्। ‘बिदाको समयमा कुपिण्डेदह आएर बालुवा बोक्ने, चाल्ने काम गर्छौं, त्यसबाट आएको दुईचार सय रुपैयाँले कापीकलम किनेर स्कुल जान्छौं,’ उनले भनिन्।
सोही ठाउँका १६ वर्षीय चन्द्र पुन मगरले कुपिण्डेदहको बगरबाट बालुवा बोक्न थालेको तीन वर्ष भयो। ‘अहिलेसम्म विद्यालय गएको छैन। म सानै छँदा बाबा बित्नुभयो,’ उनले भने, ‘आमा काम गर्न नसक्ने भएपछि घरखर्च धान्न बालुवा चाल्छु।’ उनका अनुसार बालुवा बेचेर दैनिक पाँच सय रुपैयाँ जति हुने आम्दानीले घरखर्च चल्दै आएको छ।
ज्यामिरेमा कक्षा ६ अध्ययनरत निर्मला थापा र नवज्योती माविको कक्षा ७ मा पढ्दै आएका १४ वर्षीय संयोग बूढामगर पनि बालुवा बेचेरै पढाइको खर्च जोहो गरी विद्यालय जान्छन्। यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीय हस्तबहादुर यरीले बताए। बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले बोक्ने गरेको उनको भनाइ छ।