भारती खर्बपति मुकेश अम्बानीले भनेका छन्, ‘ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ। नेपाली समाजमा पनि सपना ठूलै देख्नु भनिन्छ। सडकमा रात बिताउने हुन् या आलिशन महलमा बस्नेले पनि सपना त ठूलै साँचेका हुन्छन् तर कतिको पूरा हुन्छ भने कति त्यही सपना जस्तै हराएर जान्छन्। मानिसलाई स्वप्नजीवी प्राणी नै भनिन्छ। देखेको सपना पूरा गर्ने हुटहुटी कसलाई पो हुन्न र? सपना देख्नु भनेको आधा काम पूरा हुनु हो पनि भनिन्।
यस्तै एकजना स्वप्नजीवीको नाम हो रामकुमार महतो। उनको जीवनको कथा कुनै ‘सस्पेन्स’ फिल्मको भन्दा कम छैन। मानिस हत्तपत्त नहार्ने प्राणी हो, आफ्नो अठोटलाई पूरा गर्ने यात्रामा हिम्मत हार्ने मान्छे गुमनाम हुन्छ। तर ठूलै सपना देखेर जिन्दगीको यात्रामा निस्किएका केही हिम्मतिला मानिसहरुको पंक्तिमा दरिन्छन् केही दिनअघि लोकसेवा आयोगबाट सहसचिवमा नाम निकालेका रामकुमार महतो।
बेरोजगारीले गाँजेको नेपालका निम्न र मध्यमवर्गीय शिक्षित वर्गका धेरैको साझा सपना सरकारी जागिरे बन्नु हुन्छ। फरक के मात्रै हुन्छ भने कोहीले कार्यालय सहयोगीबाट यात्रा थाल्छन् त कोहीले कार्यालय प्रमुख अर्थात् हाकिमबाटै। पढेलेखेका युवाहरुका लागि लोकसेवा आयोग पास गर्नु एउटा ठूलो सपना हो।
यिनै स्वप्जीवीमध्ये एक रामकुमारले कुनै बेला सरकारी सेवामा प्रवेशका लागि पियनमा आवेदन दिएका थिए। तर पियनमा पनि उत्तीर्ण हुन नसकेका रामकुमार अहिले निजामती क्षेत्रको ‘फर्स्ट क्लास अफिसर’ भएका छन्। सुन्दा कथा जस्तो लाग्ने यो कुरा हाम्रा लागि साधारण हुन सक्छ। तर पियनको जागिरका लागि आवेदन दिँदा फेल भएका उनै रामकुमारले सहसचिवसम्म आइपुग्दा गरेको संघर्ष यात्रा कहाँ सजिलो थियो र? कुनै फिल्मको कथाभन्दा गहिरो जीवन कथा बोकेर हिँडेका स्वप्नजीवी हुन् रामकुमार।
उनी यही जेठ ३० गते नेपाल सरकारको सहसचिव बनेका छन्। सरकारले उनको पदस्थापन गर्न बाँकी नै छ। यद्यपि नयाँ पद र नयाँ जिम्मेवारी बहनका लागि उनी निकै उत्साहित छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित सहकारी विभागमा पुग्दा उनी हतारमा थिए। उनलाई कतै जानु थियो। बधाईका फोन र म्यासेज स्वीकार्दै उनले निजामती सेवामा आफ्नो यात्राको कथा सुनाए। उनको यो जीवन कथा हरेक संघर्षशील युवाका लागि प्रेरक मार्गचित्र बन्न सक्छ।
कथा सुरु हुन्छ २०५४ सालबाट। धनुषाको मिथिला नगरपालिकास्थित किसान बाबुका छोरा उनी भर्खर एसएलसी दिँदै थिए। उनले एसएलसी दिइरहँदा दाजु रामेश्वर जीवन महतोले हुलाकको मुखियामा नाम निकाले।
दाजुले मुखियामा नाम निकालेको क्षण उनको परिवारको लागि दशैँको उत्सवभन्दा कुनै हिसाबले कम थिएन। एउटा किसानको घरमा हुर्किएको केटोले सरकारको सिन्दुर लगाएको क्षण कम्ता गर्व लाग्दो थिएन। सधैँ माटोसँग मितेरी गाँस्दा गाँस्दै मधेसको चर्को घामले पोलेर कालो अनुहार भएको बुबाको अनुहारमा देखिएको खुशी रामकुमारले त्यो बेला महसुस गरे।
रामकुमारका लागि त्यसअघि बुवाको अनुहारमा चम्किएको त्यो खुसी दुर्लभ थियो। आफूले अनेक हन्डर खाए पनि आफ्नो सन्तानले पाएको सफलतामा सबैभन्दा धेरै खुशी हुने भनेकै बुबाआमा हुन्। बुबामा त्यो खुशी देखेपछि रामकुमारलाई लाग्यो, ‘म पनि अब सरकारी जागिर खान्छु, दाजुकै पदचापलाई पछ्याउँछु।’
तर खान्छु भन्नेबित्तिकै खान पाइने आफ्नै बारीको आँप जस्तो थिएन सरकारी जागिर। त्यसका लागि कडा मिहिनेत र अध्ययन आवश्यक थियो। उनले एसएलसी दिनेबितिक्कै लोक सेवाको लागि स्वअध्ययन सुरू गरे।
उनलाई लागेको थियो, लोकसेवा आयोग त्यस्तो क्षेत्र हो, जहाँ नातावाद, कृपावाद र भनसुन आवश्यक पर्दैन। त्यहाँबाट सरकारी सेवामा पुग्न त कठोर मिहिनेत आवश्यक पर्छ। यदि भनसुन आवश्यक थियो भने मुखियामा दाजुको नाम निस्किने कुनै सम्भावना थिएन।
तीन पल्टमा सफल
‘लोकसेवा आयोग भनेको निष्पक्ष आयोग हो, जहाँ योग्यता र क्षमतालाई मात्रै मूल्यांकन गरिन्छ। लोकसेवा न्यायको संरक्षक हो’, उनी सम्झन्छन्, ‘प्रतिस्पर्धाले मात्र उत्कृष्ट व्यक्तिको छनोट हुन्छ भन्ने मलाई लागेको थियो। लोक सेवाप्रति श्रद्धा, आस्था र सम्मान अहिले पनि मेरो मनमा उत्तिकै छ।’
तीन वर्षको कडा मिहिनेतपछि सरकारले बल्ल २०५७ सालमा पियन पदको विज्ञापन खुलायो। उनले पियनमा जागिर खान आवेदन दिए। परीक्षा भयो। नतिजा कुरे। तर, अफसोस त्यो नतिजा कहिल्यै आएन। सरकारी जागिर खाने उनको पहिलो खुड्किलोमा ठेस लाग्यो। त्यसपछि सरकारले मुखिया पदको विज्ञापन दियो। उनले मुखियामा पनि आवेदन दिए। मिहिनेत गरे पनि नतिजा उनको पक्षमा आएन।
सरकारी जागिर खाने दुई पटकको प्रयासले उनलाई निराश बनायो। चार वर्षको मिहिनेतले रंग ल्याउन सकेन। उनले २०५८ सालमा खरिदारको परीक्षा दिए। त्यसबेला सह-लेखापाल र डिट्ठामा उनको नाम निस्कियो।