राजनीति
बोल्ड तथा चर्चित नायिका रेखा थापाले गर राति नै अर्की चर्चित गायिका आस्था राउतलाई भेट्न हस्पिटल पुगेकी छन् । प्रहरीसामु ‘आत्मसमर्पण’ गरेकी गायिका आस्था राउतलाई हिरासतमा लिएर त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ ।
बोल्ड नायिका रेखा थापाले गायिका राउतलाई अस्पतालमै पुगेर भेटेकी हुन् । अस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजेर १३ मिनेट जाँदा उनले भावुक स्टाटस लेखेकी छन् । उनले भनेकी छन्, ‘आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिव्यक्तिबारे सबैजसोलाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठनप्रति पर्न गएको अमर्यादाबारे भुल स्वीकार पनि गरेकी छन् । यसबाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारको लागि आक्रोशित भएको देखिन्छ । व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र असन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् । यसलाई ठूलो बिषय र संस्थाप्रतिको आक्रमण नठानी एउटा सेवाग्राहीको जानअञ्जान आक्रोशको रुपमा लिएर यथाशीघ्र हिरासत मुक्त गर्नु पर्दछ ।’ नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन । भुल र आक्रोशमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन् र कैयन सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।’
बिरामी भएको भन्दै गायिका राउतलाई प्रहरीले अस्पताल लगिएको हो । राउतलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको बताइएको छ । तर, गायिका राउतलाई के भएको भन्ने खुलाइएको छैन ।
राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय पुराइएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
गायिका राउतमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले आफूमाथि गायिका आस्था राउतले अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुव्र्यवहार भएको बताउँदै प्रहरीलाई गाली गरेकी थिइन् । उक्त घटनाको सीसीटिभी फुटेज पनि सार्वजनिक भइसकेको छ ।
रेखा थापाको स्टाटस
आस्था रावत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र संस्था प्रतिको आक्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल/आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै
बनाउनु हुँदैन ।