logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जुत्तोपहार !


  • बलाराम तिमिल्सिना
  • आइतबार, फाल्गुन १८ २०७६

डियर भूतपूर्व सुप्रिमो
यो ऐतिहासिक भेटमा
केही त उपहार टक्र्याउँनै पर्यो
र मैले टक्र्याउँने त्यो उपहार
हजुरलाई उचित पनि हुनै पर्यो
त्यसैले लामो समय सोचेपछि
मैले चढाउँने निर्णय गरें- जुत्तोपहार !

मलाई थाहा थियो
लगाउँदा लगाउँदैको यो जुत्ता
फुकालेर हजुरलाई चढाएपछि
भरे म खाली खुट्टा फर्कनु पर्छ
र काँढा पनि बिझ्न सक्छ खुट्टामा !

तर डियर भूपू कमरेड
मेरा खुट्टा भन्दा तपाईका खुट्टा
कता हो कता मुल्यवान छन्
कता हो कता बेगवान छन
र कता हो कता दूरगामी छन् !

ती सहर र सत्ता चहार्ने जुत्ता लगाएर
हजुर जुम्ला उक्लन सक्नु हुन्न
हजुर मेरो घर पुग्न सक्नु हुन्न
हजुरलाई घुमाइरहन्छन् ती जुत्ताले
संसदीय सदन र सत्ता !

जुम्लाले पटक पटक भनेको थियो
‘तँ राजधानीबाट फर्कदा
पूर्व सुप्रिमोलाई लिएर आउँनु
सिन्जा उपत्यकाको चामलको भात खुवाएर
हामीले सोध्नु छ उनलाई –
लडाइँ हारियो कि जितियो कामरेड ?’

मेरो जुम्ला
एक पटक हेर्न चाहन्छ हजुरलाई
जसरी मेरा बाको मृत शरीर
हेर्न चाहन्थिन मेरी आमा
र चुम्न चाहन्थिन अन्तिम पटक
सहिद बनेको प्रियतमका गाला
तर अफसोच
मेरी आमाले त्यो सुबिधा पाइनन् !

डियर भूतपूर्व सुप्रिमो
मैले उपहार चढाएका जुत्ता लगाएर
जाऊँ हिडौं एक पटक जुम्ला
ड्यौढा नाँचौंला/ कम्मर भाँचौंला
लड्दा लड्दै अलपत्र परेको युध्दलाई
फेरि सुरु गर्ने सपना साँचौंला
के हजुरलाई मन्जुर छ कमरेड ?

उही हजुरलाई
सँधै वाँचेको देख्न चाहने
मोहन सहिदको छोरो –
रतन तिरुवा
सिन्जा, जुम्ला
हाल काठमाण्डौ !

२०७६|११|१८
भक्तपुर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार