ऐतिहासिक जनयुद्धको पहिलो याेजनाका लक्ष्य र नाराहरु पहिलाे योजनाका निम्न प्रमुख लक्ष्यहरू थिए ।
(क) प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नया“ जनवादी राज्यसत्ताका लागि सशस्त्र सङ्घर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु ।
(ख) नया“ जनवादी क्रान्तिका लागि सङ्घर्षको प्रधान रूप सेना र सङ्घर्षको प्रधान रूप युद्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरू तथा छापामार कारबाहीका माध्मबाट अभिव्यक्त गर्नु ।
(ग) देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरूलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्नु ।
५. नाराहरू
यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरू निम्नबमोजिम हुनेछन् ः
(क) मुख्य नारा ः
नया“ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !
(ख) सहायक नाराहरू ः
— राजतन्त्रात्मक संसदीय व्यवस्था मुर्दावाद !
— पञ्चकांग्रेस गठबन्धन सरकार मुर्दावाद !
— जमिन कस्को ? जोत्नेको !
— विद्रोह जनताको अधिकार हो !
— नया“ जनवादी क्रान्ति जिन्दावाद !
— जनयुद्ध जिन्दावाद !
— सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद मुर्दावाद !
— संशोधनवाद, नवसंशोधनवाद मुर्दावाद !
— माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिन्दावाद !
(ग) उपरोक्त प्रमुख र सहायक नाराहरूका साथै सबै क्षेत्रहरूले आ–आफ्नो विशेषताअनुसार निम्न कुरालाई समेट्ने गरी विशिष्ट नाराहरूको विकास गर्नुपर्ने छ ः
जमिन जोत्नेको नाराअन्तर्गत सामन्त जमिन्दारको जग्गा कब्जा गरी भूमिहीन गरिब किसानहरूमा वितरण गर्ने, पर्ति जग्गा कब्जा गरी किसानहरूमा वितरण गर्ने, सामन्तहरूको बाली कब्जा गर्ने, कृषि बैंकलगायत बैंकहरूको ऋण नतिर्ने, रोजगारीका निम्ति सङ्घर्ष उठाउने, सहकारी खेतीका लागि किसानहरूलाई प्रेरित र सङ्गठित गर्ने, ग्रामीण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकीकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सिर्जनात्मक परिचालनमा जोड दिने आदि ।
महिलाहरूमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनैतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्धविश्वासका विरुद्ध समान अधिकारका निमित्त सङ्घर्षका नाराहरूलाई सशक्त ढङ्गले उठाउने ।
जातीय भेदभावका विरुद्ध जातीय स्वायत्तताको नारालाई व्यापक रूपमा उठाउने र पार्टीको प्रभाव भएका सङ्घर्षका इलाकाहरूमा स्वायत्तताको नीतिलाई लागू गरेर जाने, दलित जातिमाथिको शोषण–उत्पीडनका विरुद्ध नारा उठाउने र सङ्घर्ष सङ्गठित गर्ने ।
क्षेत्रीय भेदभावका विरुद्ध सङ्घर्षको नारा दिने । त्यसैगरी धार्मिक थिचोमिचोका विरुद्ध धर्मनिरपेक्ष राज्यको नारालाई उठाउने ।
स्थितिअनुसार विभिन्न जनवर्गका मागहरूलाई मूर्त नाराका रूपमा सूत्रबद्ध गर्ने ।