logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको जनयुद्ध दिवस जनताको माझमा, स्थायी समिति सदस्य गाउगाउमा


  • आश तमु
  • बिहिबार, फाल्गुन २ २०७५

पुरानो राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषसहित नेपालमा २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्ध आज २३ वर्ष पुगेको छ । यस अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महान् नेपाली जनयुद्धको २४ औँ वार्षिकोत्सव आज बुधबार देशैभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । नेकपाका महासचिव विप्लवले जनताका बीचमा विशेष कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् । यसअघि विप्लवले करिब डेढ वर्षपछि रातो खबर साप्ताहिकलाई २४ औँ जनयुद्ध दिवसका अवसरमा अन्तर्वार्ता र शुभकामना दिँदै जनता, सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गरेका थिए ।

जनयुद्ध दिवसका अवसरमा पश्चिमकमान्डमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जनयुद्धको इतिहास स्मरण गर्दै भने, ‘महान् जनयुद्धको थालनी गर्दा मालेमावादको झन्डालाई कहिल्यै झुक्न दिनेछैनौँ, जनताको मुक्ति नहुँदासम्म हातको बन्दुक झर्न दिनेछैनौँ भनेका थियौँ । जीवनको बलिदान दिनुपरे पनि हामी जनताको मुक्तिबेगर कुनै प्रलोभन, दबाब र आतङ्कका अगाडि झुक्नेछैनौँ भनेका थियौँ । जनताको यो शपथ लिएका केही साथीहरूले संसद्वादप्रति आत्मसमर्पण गरे पनि क्रान्तिको झन्डा उठिरहेको छ । झरेको बन्दुक भिरिएको छ र जनताको मुक्तिका लागि लडिरहिएको छ ।’
‘एकीकृत जनक्रान्ति भनेको सबै अस्त्रहरूलाई एकीकृत गर्ने हो’, कञ्चनले भने, ‘लेनिनले रुसी समाजवादी क्रान्तिका लागि रुसी पुँजीवादी साम्राज्यवादका विरुद्ध मजदुरको अस्त्र प्रयोग गर्नुभयो । माओ त्सेतुङले नयाँ जनवादी क्रान्तिका लागि चिनियाँ सामन्तवादका विरुद्ध किसानको अस्त्र प्रयोेग गर्नुभयो । हामीले वैज्ञानिक समाजवादका निम्ति दलाल पुँजीवादका विरुद्ध किसान, मजदुर, शिक्षक, विद्यार्थी, डाक्टर, प्रोफेसर, मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, सेना, प्रहरी कर्मचारीलगायत देशका जात, जाति, जनजातिसहित सम्पूर्ण उत्पीडित नेपाली जनतालाई सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत गर्ने हो । सबै उत्पीडित नेपाली जनता एकताबद्ध भएर नेपालको दलाल पुँजीवादी सत्ता र त्यसका पहरेदार संसद्वादीहरूलाई सत्ताच्यूत गरी जनताको सत्ता स्थापना गर्ने हो ।’

यस्तै मध्य केन्द्रीय कमान्डअन्तर्गत पूर्वी ताम्सालिङमा आयोजित जनयुद्धको वार्षिकोत्सव कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले जनयुद्धको इतिहासको सम्झना गर्दै दुनियाँ बदल्ने महान् जनयुद्ध गौरवपूर्ण सर्वहारा वर्गको इतिहास भएकाले यसलाई एकीकृत जनक्रान्तिसँग जोडेर विजयको इतिहास कायम गर्नुपर्ने बताए । जनयुद्धको थालनी गर्ने बेला रोल्पा र रुकुमको सीमा क्षेत्रमा पर्ने पाछाबाङमा तय भएको तीनवटा प्रहरीचौकीमा धावा बोल्ने योजना बनाउँदा त्यस क्षेत्रको जिम्मेवारीमा भएको हुनाले सशस्त्र जनयुद्धको सुरु भएको निशानीस्वरूप त्यतिबेलाका नेता प्रचण्डलाई खुकुरी उपहार दिँदै जनयुद्ध विधिवत् र फौजी तरिकाले सुरु भएको स्मरण उनले गरे । जनयुद्धको तयारीस्वरूप देशभर गरिएका तीन फौजी कारबाहीमध्ये रुकुमको आठबीसकोट प्रहरीचौकी आक्रमणको नेतृत्व गरेका नेता सुदर्शनले रोल्पाको होलेरीमा नन्दबहादुर पुन ‘पासाङ’ र वर्षमान पुन ‘अनन्त’ को नेतृत्वमा रहेको राइफल र प्रेसरकुकर बमसहितको टोलीले चौकी कब्जा नगरेको तर आफ्नो नेतृत्वको घरेलु हतियारसहितको टिमले आठबीसकोट चौकी र हरिबोल गजुरेल ‘शीतलकुमार’ नेतृत्वको टिमले सिन्धुलीको सिन्धुलीगढी चौकी सफल आक्रमण गरेको जनयुद्धको विरासत स्मरण गर्दै एकीकृत जनक्रान्ति जनयुद्धको गुणात्मक र नयाँ क्रान्तिको मोडेल भएको बताए ।
जनयुद्ध सुरु भएको १४ दिनमै सरकारले गोरखामा १४ वर्षीय दिलबहादुर रम्तेलको हत्या गरेको र १५ गते रुकुमको मेलगैरीमा ६ जनाको सामूहिक हत्याकाण्ड गराएको भन्दै उक्त घटनामा आफू संयोगले बाँचेको स्मरण सुनाए । जनयुद्धको गौरवमय इतिहास जनयुद्ध दिवस मनाउने दिनमा बेथान मोर्चामा बलिदान गर्ने सहिद दिलमाया बम्जनकी आमासँग भेट हुँदा आफूलाई धेरै खुसी लागेको बताए ।

नेकपाको मध्यकेन्द्रीय कमान्डअन्तर्गत पूर्वी ताम्सालिङमा जनयुद्धको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सुदर्शनले पुरानो पिँढीले नयाँ पिँढीलाई प्रशिक्षित गर्नुपर्ने भन्दै जनयुद्धको जगमा एकीकृत जनक्रान्तिलाई विजयको उचाइमा पु¥याउँदै देशमा जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ ले जनयुद्ध वीरता र बलिदान भएको स्मरण गर्दै जनयुद्ध सुरु गर्दा ‘गुलेली खेलाउन नजान्नेहरूले जनयुद्धको कुरा गर्ने’ भन्नेहरूले जनयुद्धले गरेको कायापलट देखेजस्तै आज हामीले सुरु गरेको एकीकृत जनक्रान्तिलाई ख्यालठट्टा नठान्न आग्रह गर्दै अबको क्रान्तिको तागत कस्तो हुन्छ भन्ने अब आफ्नो पार्टीले देखाउने बताइन् । सहिदको रगत उनका परिवार, घाइते, बेपत्ता योद्धाका परिवारका आँसुको मूल्य र बलिदानको इतिहास बोकेको जनयुद्ध ऐतिहासिक भएको भन्दै उनले यसको अन्तिम उद्देश्य आफ्नो पार्टीले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको शान्तिवाटिकामा २४ औँ जनयुद्ध दिवसका अवसरमा सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य मकर गुरुङले प्रचण्ड–बाबुरामहरूले क्रान्तिलाई धोका दिए पनि विप्लवको नेतृत्वमा अघि बढिरहेको क्रान्तिले देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । उनले आफ्नो पार्टीले देशभर चलाएको अभियानले जनतामा नयाँ जागरण पैदा गरेको बताए । आफ्ना नेता–कार्यकर्ताहरू देशैभर जनताका घरआँगनमा पुगेर सहिदका सपना पूरा गर्ने अभियानमा रहेको उनले बताए । जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै गुरुङले आफ्नो पार्टीको नेतृत्वमा जनयुद्धको अभिभारा पूरा हुने विश्वास व्यक्त गरे । काण्डैकाण्डमा फसेर असफल भैसकेको वर्तमान सरकारले गाउँगाउँमा सिंह दरबार नभई हत्या, हिंसा, भ्रष्टाचार र बलात्कारका घटनाहरूलाई मलजल गरिरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य दीर्घ पाण्डेले नेपालमा चलेको जनयुद्ध देशलाई परिवर्तन गर्ने महाअभियान भएकाले यसलाई गौरवका रूपमा लिनुपर्ने बताए । साथै पाण्डेले जनयुद्धबाट आएका मुख्य नेताहरू विचलनकारी बाटोमा पुगेको भन्दै कसैले जनयुद्धलाई श्राद्धका रूपमा मनाइरहको, कसैले चौरासीपूजाका रूपमा मनाइरहेको भए पनि क्रान्तिकारीहरूले उत्सवका रूपमा मनाइरहेको बताए । साथै उनले तत्कालीन जनयुद्धका नायक प्रचण्ड विचलन भएर यज्ञपूजा गर्न गए पनि क्रान्तिकारीहरू जनयुद्धको उद्देश्यलाई विजयमा पु¥याउन अघि बढिरहेको बताए । देशमा दलालहरूले भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै उनले प्रचण्ड–बाबुरामलगायत नेताहरूले क्रान्तिको बाटोबाट हात झिके पनि क्रान्ति आफ्नो गतिमा अघि बढ्ने बताए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा विदेश विभागका सदस्य नरबहादुर कार्कीले सर्वहारा वर्गको सपनाहरूको उठान गरिएको दिन विशेष दिन भएको भन्दै यो दिन अन्तिम क्रान्तिका लागि तयार रहन प्रतिबद्धता गर्ने दिन भएको बताए । नेपालका दलालहरूले नेपालको युवा शक्तिलाई विदेशका गल्लीगल्लीमा बेच्ने तर आफूहरू भ्रष्टाचार गरेर भुँडी भर्ने काम गरिरहेको भन्दै देशको अवस्था यस्तो बेहाल हुनुमा वर्तमान दलाल सरकार जिम्मेवार रहेको बताए । देशका एक प्रतिशत मान्छेसँग देशको ९९ प्रतिशत पुँजी रहेको तर ९९ प्रतिशत मान्छेसँग एक प्रतिशत पुँजी पनि नभएको बताउँदै कार्कीले सरकारले प्रहसनैप्रहसनमा जनतालाई अलमल्याइरहेको प्रस्ट पारे । गाउँपालिका र नगरपालिकामा भर्ना गरिएका सरकारी पार्टीका कार्यकर्ताले गाउँगाउँमा डोजर आतङ्क मच्चाइरहेको उनले बताए । मुख्य दलाल अमेरिका, सहायक दलाल भारतका स्थानीय एजेन्ट नेपालका शासकहरू भएको भन्दै उनले दलालहरूको टाउकोमा लाखौँ घन एकैपटक बर्साउने समय आएको बताए । नेकपाका महासचिव विप्लवलगायत नेताहरूलाई खोज्नका लागि ६५ करोड रुपैयाँ खर्च गरेको भन्दै उनले व्यक्ति मात्र विप्लव नभई देश र जनतालाई माया गर्ने सेना, प्रहरी, विद्यार्थी सबै विप्लवमय भएको बताए ।

जनवर्गीय सङ्गठनका तर्फबाट अखिल नेपाल किसान महासङ्घका (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीले जनयुद्धबाट प्राप्त भएको ८० प्रतिशत भूगोल पनि संसद्वादी भासमा पुगेका नेताहरूका कारण गुम्न पुगेको बताए । उनले ७ डिभिजन सेना पनि विघटन गरिएको तर पनि विप्लव नेतृत्वमा अघि बढिरहेको क्रान्तिकारी आन्दोलनले देशमा समाजवाद स्थापना गरेरै छोड्ने विश्वास व्यक्त गरे । सरकारले भ्रष्ट, सुदखोर र दलालहरूलाई कारबाही नगरे जनसत्ताले कारबाही गर्ने प्रस्ट पार्दै कार्कीले धुम्बाराहीको जनयुद्ध दिवस र शान्तिवाटिकामा मनाइएको जनयुद्ध दिवसमा आकाशपाताल फरक रहेको बताए ।

कार्यक्रममा जनयुद्धको स्मरण गर्दै अबिरवरण गरिएको थियो । नेकपाकी नेत्री भृकुटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चका सुरेश अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।


यसैक्रममा नेकपा लुम्बिनी ब्युरोले २४ औँ जनयुद्ध दिवसका अवसरमा बुटवलमा भव्य ¥याली र सभा आयोजना गरेको छ । कार्यक्रलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले राज्यसत्ताका सामाजिक दलालहरूलाई निरङ्कुश राजतन्त्रलाई जस्तै सडकमा ल्याउने चेतावनी दिएका छन् । नेता वीरजङ्गले कम्युनिस्ट नामधारी सरकारले जनतामाथि दमन थोपारेको पनि बताए । ‘जनताका पक्षमा मुद्दा उठाउँदा राज्यले हामीमाथि निरङ्कुश कदम चालेको छ । यसको परिणाम गम्भीर हुनेछ’, उनले भने । नेता वीरजङ्गले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्री केपी वली भ्रष्टाचार अन्त्य गर्छु भनेर घोषणा गरे पनि त्यो हास्यास्पद भएको बताए । यस्तै नेकपाका कार्यकर्ताहरूले सहिद इच्छुकको घरमा जनयुद्ध दिवस मनाएको खबर छ । दाङ र अर्घाखाँची नेकपाका नेता–कार्यकर्ताले महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को घर र बगैँचा रहेको भालुबाङनजिक अर्घाखाँचीमा २४ औँ जनयुद्ध दिवस मनाएका छन् । दाङबाट प्राप्त समाचारअनुसार नेकपाको दाङको राप्ती गाउँ समितिका कार्यकर्ताले २४ औँ जनयुद्ध दिवस मनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरू अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्बर पोख्रेल, कपिलवस्तुका जिल्ला सदस्य टेकबहादुर पुनलगायतले हिरासतभित्रै २४ औँ जनयुद्ध दिवस मनाएका छन् । उनीहरुले हिरासतभित्र रहेका कैदीहरूलाई चकलेट वितरण गर्नुका साथै तथा एकआपसमा टीका लगाई जनयुद्ध दिवस मनाएका हुन् ।

२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गर्दा सर्वहारा वर्गको मुक्तिका पक्षमा भए पनि नेतृत्वले गद्दारीका कारण जनजीविका र राष्ट्रियताको रक्षा हुन नसकेको नेकपाका नेताहरुले हिरासतभित्रैबाट बताएका छन् । नेपालमा क्रान्तिकारी परिवर्तनका पक्षमा नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशाका माध्यमबाट कदम चालेको बताउँदै नेताहरुले नेपाली जनता र सर्वहारा वर्गले २०५२ साल फागुन १ अर्थात् आजकै दिन आफ्नो मुक्तिका खातिर विद्रोह बोलेको स्मरण पनि गरे । जनयुद्धमा हजारौँको सहादत, सयौँ बेपत्ता र लाखौँ घाइतेले पसिना बगाएर १० वर्षसम्म महान् यात्रा गरेको भए पनि जनता र राष्ट्रको स्वाभिमान कमान्डर भनिनेबाटै अलपत्र पारिएको भन्दै अधिकार, शान्ति र समृद्धिका लागि फेरि अर्को निर्णायक क्रान्ति अनिवार्य रहेको बताउँदै उनीहरुले परिवर्तनका पक्षमा आफूहरू निरन्तर लडिरहने बताएका थिए ।

जनयुद्ध दिवसका अवसरमा इलाममा भव्य कार्यक्रम सम्पन्न भएको छ । इलामको सदरमुकाममा २४ औँ जनयुद्ध दिवसका अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको हो । पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन प्रमुख अतिथि रहेको उक्त कार्यक्रम इलामको मुख्य चोकबजारमा हजारौँ जनताको बीचमा सम्पन्न भएको हो । सभाको अध्यक्षता मेची ब्युरो सदस्य दर्शनले गरेका थिए । सभामा झापा सेक्रेटरी सुमनसिंहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सामना परिवारका कलाकारले स्वागत मन्तव्य राखेका थिए । यसैबीच काठमाडौंको ललितपुर, भक्तपुर,चितवन, पोखरा,दाङ, सुर्खेत, प्युठान, रोल्पा, रुकुम, सर्लाही, सुनसरी, रसुवालगायतका ठाउँहरुमा पनि जनयुद्धको २४ औ बार्षीकोत्सवको अवसरमा सभाहरु आयोजना गरिएका छन् ।

रातोखबर बाट

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार