logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्ड बाबुरामले चिया चुरोट खाने ठाउ यस्तो थियो


  • पत्रपत्रिका
  • शनिबार, चैत्र १६ २०७५

काठमाडौँ, १६ चैत । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए।

ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी।

चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो। कुनोमा रहेको उनको पसलमा थुपै्र मानिस चिया पिउन आउँथे।

खड्गीको परिवार बेरोजगार थियो। त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन्। पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ।

‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन्। दुवैलेल दूध चिया रुचाउँथे। उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे। खासै चिया खाँदैनथे।’

दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे। चासोसाथ पत्रपत्रिका पढ्थे। राजनीतिक परिवर्तनका बहस गर्थे। घोत्लिइरहन्थे। तर उनी एकाएक गायब भए।
एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई ।

त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन। तर जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो।

‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’
उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ। त्यो बेलाको सम्झना गर्दै भनिन्, ‘त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे।’

दाहाल नरम बोल्थे । भेदभाव गर्दैनथे। लाएको गुन नबिर्सने खालका थिए। प्रत्येक दिन आउँथे । चियासँगै चुरोट तान्थे । सीता मिजासिली थिइन् । राम्रो बोल्थिन् । कहिलेकाहीँ आपत्मा दुईचार सय लिनेदिने पनि गर्थिन्। दुःखसुखका कुरा हुन्थे। खड्गीलाई बहिनी भन्थिन्। खुब माया गर्थिन्। उनीहरूसँगै चिया पसलमा सँगै आउने डा। बाबुराम भट्टराईबाहेक खड्गीले अरूलाई भने चिन्दिनन्।

जनआन्दोलनअघि हितैषी बनेको दाहाल परिवारलाई भेट्न उनले निकै पहल गरिन्। तर त्यो सौभाग्य नपाएको उनको गुनासो छ। ‘तीनचार पटक भेट्न खोजेँ, उनका मान्छेहरूले समय मिलाइदिएनन्’, खड्गीले भनिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा नितु घलेले लेखेकी हुन्।

जनआन्दोलनपछि शान्तिवार्ता भएपछि भने दाहाल परिवार भेट्न पाए खड्गी र उनका श्रीमान्ले । सामाखुसीमा । त्यति बेला सीता दाहालले भूमिगतकालमा धेरै दुःख पाएको र मुस्किलले ज्यान बचाएर आएको अनुभव सुनाएकी थिइन् । ‘त्यसपछि भेट भएको छैन’, खड्गीले भनिन्।

केही वर्षअघि सीता बिरामी पर्दा नर्भिक अस्पतालमा भेट्न पनि गएकी थिइन् । दुर्भाग्य, उनी त्यहाँ पुग्नेबित्तिकै सीताको गाडी हुइँकिएको थियो, घरतिर।

बगलामुखी मन्दिरमा ०६५ सालको चैतमा आगो लाग्यो । त्यसपछि उनले त्यहाँ चिया बेच्न पाइन् । ६२ वर्षको उमेरमा श्रीमान् मणिरत्न खड्गीको मृत्यु भयो। ११ महिनासम्म ब्रेन ह्यामरेज भएर थला परे। तीन महिना अस्पतालमा राख्दा लाखौं रुपैयाँ ऋण लाग्यो।

उनको छोरा राजीव कुम्भेश्वर मन्दिरको बाहिरपट्टि गाडामा सामान बेच्छन् । एक आना एक पैसामा बनेको घरमा उनको संयुक्त परिवार बस्दै आएको छ । तर भूकम्पले चिराचिरा परिसकेको छ। भनिन्, ‘चाहेर पनि बनाउन सकिनँ। विभिन्न समस्या छन्।’

राजनीतिबाट पीडित छ, खड्गीको परिवार । कांग्रेसमा लागेकी बूढी सासूले राजनीति गर्ने क्रममा सबै सम्पत्ति सकाइन्।

राजनीतिपीडित भएकै कारण सरकारले सर्लाहीमा जग्गा दिएको थियो । तर त्यो जग्गामा पनि मुद्दा प¥यो । यतिबेला त्यही मुद्दाले समस्या पारेको छ। परिवार धान्न छोरालाई जागिर खोजिरहेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार