logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

के विप्लवलाई हत्या गर्न चाहन्छन् केपी-प्रचण्ड ? के हो वास्तविक ?

प्रचण्डको सकुनी भूमिका


  • लेखक रमेश शर्मा
  • मंगलबार, चैत्र २६ २०७५

सर्वप्रथम त यो आलेखमा नेकपाको बारेमा सुरुमै केही लेखौं । नेपालमा हाल दुईवटा नेकपा छन् । पहिलो हो प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको र पूर्वमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सह-अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जसलाई छोटकरीमा लेख्नुपर्दा नेकपा (नेकपा) हुनजान्छ । त्यसैले होला नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलगायत कैयौंले उक्त दललाई ‘डबल’ नेकपा पनि भन्ने गर्छन् । अर्को नेकपा हो- नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी जसको छोटकरी हुनजान्छ, नेकपा । तर, हालसालै सरकारमा रहेको दोहोरो नेकपाले विप्लव नेतृत्वको एकसरो नेकपालाई प्रतिबन्ध लगाएको छ । तलका परिच्छेदमा भने यी दुईलाई सरकारी नेकपा र प्रतिबन्धित नेकपा भनेर छोटकरीमा पुकारिएको छ ।

हुन त मूलधारका सञ्चारमाध्यममा प्रतिबन्धित नेकपालाई विप्लव समूह लेख्ने गरिएको छ । तर, सत्ताधारी शक्तिले अन्य शक्तिलाई पुकार्न प्रयोग गर्ने विविध पदावलीभित्रको शक्ति सम्बन्ध, राजनीति र भाषिक हिंसाबारे थेरथोर जानकार जसकसैले पनि प्रतिबन्धित नेकपालाई ‘विप्लव समूह’ भन्न अस्वीकार गर्नैपर्छ । किनकि, यस्तो ‘नोमेक्लेचर’को प्रयोगले प्रतिबन्धित नेकपालाई अपराधिक समूहसम्बन्धी डिस्कोर्सभित्र फ्रेम गर्दछ । यदि प्रतिबन्धित नेकपालाई विप्लव समूह भनेर पुकार्ने हो भने अर्को पक्षले सरकारी नेकपालाई ओली–प्रचण्ड गिरोह भनिदिन सक्छ । त्यसकारण, यो टिप्पणीमा दुईवटा नेकपालाई सरकारी र प्रतिबन्धित नेकपा भनेर पुकारिएको छ ।

नामकै बारेमा सुरुमै यस्तो लम्बेतान ‘गनगन’का लागि पाठकहरुसित क्षमा माग्दै अब मूल विषयतर्फ प्रवेश गरौं । हिजोआज प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कि हामी उत्तरसत्यवादी युगमा प्रवेश गरिसकेका छौं । बारम्बार इतिहास र मिथकको भद्दा ब्याख्या गर्नु, झूठो गोयबल्स शैलीको प्रचार गर्नु र आफ्नै पछुवा कार्यकर्ता र आममानिसको भावनाको प्रचण्ड दोहनमार्फत् आफ्नो नितान्त निजी र दलगत रोटी सेक्नु यी दुई नेताको दैनिकी बनेको छ । कतिपयले गणतन्त्रका ‘नयाँ राजा’ समेत उपाधि प्रदान गरेका छन् शर्मा र दाहाललाई आजभोलि । वर्तमान नेपालका सर्वाधिक शक्तिशाली यी दुईलाई ‘नयाँ राजा’ र यिनका खासगरी दाहालका सन्तानलाई ‘राजकुमारी’ भनिदिँदा अर्को फसादमा पर्न सकिने जोखिम पनि उत्तिकै छ । त्यसकारण, त्यस्तो लफडातिर लाग्नुभन्दा कुरोको चुरोतर्फ प्रवेश गर्नु नै उपयुक्त होला ।

ओलीको सुदर्शन चक्र

आइतबार संसदलाई सम्बोधन गर्दा प्रधानमन्त्री केपी ओली अहंकारले उन्मत्त साँढेझैं लाग्थे । सायद ओली थरकै प्रतिबन्धित नेकपाका स्थायी समिति सदस्य एवम् मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश उर्फ सुदर्शनलगायतको टोलीलाई गिरफ्तार गरेपछि ठूलै सफलता हात लागेको उनले ठोनका हुँदा हुन् । सम्बोधनमा क्रममा उनले भगवान् श्रीकृष्णको सुदर्शन चक्रको पनि चर्चा गर्न भ्याए । सबैलाई थाहा भएकै कुरा हो, उखानटुक्कामा प्रधानमन्त्री ओलीलाई समकालीन नेपाली राजनीतिमा कसैले पनि सक्दैन । अल्पशिक्षित समुदायमा यस्ता उखानटुक्काको ‘ह्युरिस्टिक पावर’ वा दिमागमा राम्रो वा नराम्रो चीज सहजै घुसाउने शक्ति कम हुँदैन भन्ने त उनले चुनावमै पाएको सफलताबाट पनि पुष्टि हुन्छ । त्यसकारण, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रयोग गर्नुभएको ‘सुदर्शन चक्र’ उपमालाई आमनेपालीले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।

भित्री सूत्रका अनुसार सरकारी नेकपाका नेता देव गुरुङ स्वयम्ले नेत्रविक्रम चन्दलाई प्रत्यक्ष रुपमा भेटेर फर्केपछि वार्ताको प्रस्ताव लिएर खुमलटार पुग्दा प्रचण्डले उनलाई ठाडै हकारेको प्रसंग उल्लेखनीय छ ।

प्रतिबन्धित नेकपाका महासचिव विप्लवलाई लक्षित गरेर यस्तो भाषाशैली प्रयोग भएको छ । कृष्णको सुदर्शन चक्रको काम के थियो? शत्रुको शीरोच्छेदन गर्ने । त्यसो भए प्रधानमन्त्री ओलीले विप्लवलाई शीर छेदन गर्ने धम्की दिएका हुन् त ? सरकारी नेकपाका दुई जना सहचालकले प्रतिबन्धित नेकपाबारे लिएका निर्णय र झूठा ग्वेबेलियन प्रचारको पृष्ठभूमिमा उनीहरुले स्वच्छ छविका युवा नेता नेत्रविक्रम चन्दको हत्याको योजना बुनिरहेका त छैनन् भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिबन्धित नेकपाले बारम्बार व्यक्तिहत्याको नीति नै नरहेको स्पष्ट पार्दापार्दै पनि पुष्पकमल दाहालले विप्लवले आफूलाई मार्न खोजेको एकोहोरो प्रचार गर्दै हिँड्नु, प्रतिबन्धित नेकपाले सुरक्षा फौज होइन आफ्नो आक्रमणको निशाना भ्रस्टाचारी र कमिशनखोरहरु मात्रै रहेको स्पष्ट पार्दापार्दै पनि गाउँगाउँमा सेना परिचालनमा प्रधानमन्त्री ओलीले जोड लगाउनु र सरकारी नेकपाका सहअध्यक्ष दाहालको त्यसमा भित्री समर्थन हुनुबाट यो सरकारले युवा नेता विप्लवको हत्यासम्मकै योजना बनाएको आंकलनलाई नै बल पुग्छ । भित्री सूत्रका अनुसार सरकारी नेकपाका नेता देव गुरुङ स्वयम्ले नेत्रविक्रम चन्दलाई प्रत्यक्ष रुपमा भेटेर फर्केपछि वार्ताको प्रस्ताव लिएर खुमलटार पुग्दा प्रचण्डले उनलाई ठाडै हकारेको प्रसंग उल्लेखनीय छ ।

प्रचण्डको सकुनी भूमिका
हरदम सुट र टाई लगाएर सार्वजनिक कार्यक्रममा देखिने ‘डिम्यागग’ पुष्पकमल दाहालको भूमिका विप्लवहरुलाई जंगल पठाउने सबालमा महाभारतका सकुनीको जस्तै भएको छ । प्रतिबन्धित नेकपाको विद्रोहको जननी अरु कोही नभएर हाल जतिखेरै सुट र टाई नछाड्ने ‘महानायक’ पुष्पकमल दाहाल नै हुन् भन्दा अत्युक्ति हुँदैन ।

पहिलो, वैचारिक रुपमा । दाहालले अहिलेसम्म ०५२ सालमा सुरु भएको जनयुद्ध उग्रवामपन्थी भड्काव थियो भनेर सार्वजनिक रुपमा आत्मालोचना गरेका छैनन् । उनले जनयुद्धको सुरुआत र बैठान दुवैको गौरवीकरण गर्ने गरेका छन्, जुन आफैमा एउटा ठूलो विरोधभाष हो । ०५२ सालमा सुरु भएको जनयुद्धको उद्देश्य ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै, नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्नु’ थियो । तर, शान्तिप्रक्रियामार्फत् बैठानसम्म आइपुग्दा जनयुद्ध संघीय लोकतान्त्रिक संसदीय गणतन्त्रमा आएर टुङ्गियो ।

सशस्त्र बलमा जनवादी राज्यसत्ता स्थापना गर्ने प्रयत्न आफैमा उग्रवामपन्थी भड्कावको परिणाम थियो तर त्यसमा सामेल भैसकेको स्थितिमा त्यसलाई कसरी सच्याउने भन्ने विमर्शको क्रममा खासगरी डा। बाबुराम भट्टराईको जोडमा संविधानसभा र गणतन्त्रको नारालाई मुखरित गरिएको थियो । यो ऐतिहासिक यथार्थ सबैका सामु छर्लंग हुँदाहुँदै पनि नयाँ शक्तिको निर्माणमा दौडाहामा निस्केका डा। भट्टराईसमेत ‘फालीलाई फाली’ भन्न तयार नभएको अवस्था भने बुझिनसक्नुको छ ।

डा। भट्टराईकै हकमा भन्नुपर्दा आफैसित लडेका योद्धाहरुप्रति बेलाबेलामा उनका अभिव्यक्तिमा देखिने घृणाभाव र आफूले विभिन्न समयमा निर्माण गर्ने निर्जीव सिद्धान्तप्रतिको लगाव विचित्रको छ । सायद उनी ‘इनलाइटमेन्ट प्रोजेक्ट’का ‘इपिटोम’ हुन् । जर्मन महान् दार्शनिक कान्टजस्तै, जसको दर्शनमा सजीव भावनाको पूर्ण अनुपस्थिति छ, निर्जीव तर्कहरुलाई मात्रै ठाउँ छ । त्यसैले हुनुपर्छ, ‘इनलाइटेनमन्ट प्रोजेक्ट’का दुई धारा पुँजीवादी र साम्यवादी विचार दुवै असफलसिद्ध भएको । तर, पुँजीवादी र साम्यवादी धारा दुवै असफल भएको निस्कर्ष निकाल्ने डा। भट्टराईको नयाँ धारा पनि त्यही ‘इनलाइटेनमन्ट’ कै मुहानबाट कलकलाएजस्तो देखिन्छ र उनी आफैं पनि कान्टभन्दा कम छैनन्, निर्जीव तर्कको जगमा आफ्नो वैचारिक महल खडा गर्न । वर्तमान सरकारको पूर्ण असफलताको सन्दर्भमा नयाँ शक्तिका लागि राजनीतिक ‘स्पेस’ बढ्दै गएको भए पनि यो विरोधाभाषबाट बाहिर निस्कन नसक्ने हो र राजनीतिमा भावनाको केन्द्रीय भूमिकाबारे बेलैमा पुनःविचार गर्न नसक्ने हो भने नेपाली राजनीतिमा डा। भट्टराईसँग कसरी आशा गर्न सकिएला र ?

दोस्रो, प्रतिबन्धित नेकपाको नेतृत्वको एकीकृत जनक्रान्तिको मुहान तत्कालीन एकीकृत नेकपा(माओवादी)को पालुङ्टार बैठक थियो । उक्त बैठकमा डा। भट्टराईलगायतका माओवादीको एउटा पक्षले शान्ति र संविधानमा जोड लगाउने कार्यनीति अबलम्बन गर्नुपर्ने प्रस्ताव लिएर गए । तर, अध्यक्ष दाहालले अर्का नेता मोहन वैद्य र युवानेता नेत्रविक्रम चन्दसित मिलेर विद्रोहको कार्यदिशा पास गरिदिए । अनि ६ दिने आन्दोलनसम्म आइपुग्दा विद्रोहको प्राविधिक जिम्मा युवानेता चन्दलाई दिइयो । त्यसक्रममा शिविरबाट प्रचण्डका बफादार डेपुटी र डिभिजन कमाण्डरले लुकाएका धेरैजसो हतियार प्रचण्डकै निर्देशनमा विप्लवको जिम्मा लगाइयो । यसकारण पनि विप्लव विद्रोहको जरो आजका चौबीसघण्टे सुटटाईधारी पुष्पकमल दाहालज्यूमा नै जान्छ ।

तेस्रो हो, तत्कालीन माओवादी पार्टीभित्रको पुष्पकमल समूहको कार्यशैली । उक्त समूह सत्ताको स्वाद चाखेपछि यति महापतन भयो कि दाहाल र उनका सारथी सलह जस्ता भए । कहिले काँग्रेसको बारीमा पसेर अन्न खाने त कहिले एमालेमा बारीमा पसेर । देश बनाउने, आममानिसको जीवनमा सुख ल्याउने भन्ने अब उनीहरुको डायरीमा रहेन । कसरी सहयोद्धाहरुलाई पाखा लगाउने र सत्ताको भोजमा आफूहरुमात्रै सहभागी हुने, कसरी साधनस्रोत र अकुत सम्पत्ती एकत्रित गर्ने र अरुलाई रैती बनाएर कालो धनको बलमा देशमा शासन थोपर्ने र थप लुट मच्चाउने भन्ने उक्त समूहको मूल उद्देश्य रहन पुग्यो । विप्लव विद्रोह त्यही महापतन विरुद्धको प्रतिक्रिया पनि हो ।

सुरक्षफौजसितको भिडन्तलाई पनि प्रतिबन्धित नेकपाले हालसम्म छल्दै आएको छ जबकि प्रचण्डले भित्रभित्रै प्रधानमन्त्री ओलीलाई रक्तपातपूर्ण मुठभेडका लागि उक्साइरहेका छन् । हाल देशमा नयाँ गृहयुद्धका लागि आशिर्वाद लिन उनी संयुक्त राज्य अमेरिकाको राजनीतिक तीर्थाटनमा छन् ।

यससन्दर्भमा सुरक्षा निकायको एउटा पंक्तिले यो यथार्थलाई राम्ररी बुझेजस्तो आभाष हुन्छ । सरकारका निर्णयसित नेपाली सेनाका कतिपय असहमति यही पृष्ठभूमिमा प्रकट भएको हुनुपर्छ । प्रचण्डले हिजो पनि जनयुद्धका नाममा नेपाली जनताका छोराछोरीलाई भिडाएर ‘नयाँ राजा’ भए, फेरि प्रतिबन्ध मार्फत् बलजफ्ती देशलाई अर्को हिंसात्मक द्वन्द्वमा धकेलेर भ्रस्टाचार र कमिशनखोरीको आफ्नो ‘लुटको स्वर्ग’लाई बचाउन खोजेका छन् भन्ने विश्लेषण पनि छन् । हिजो झूठा आश्वासन बाँडेर गरीब जनताका सोझा छोराछोरीलाई भिडाए । आज अब उनीहरु फुस्लन छाडेपछि तर्साएर आफ्नो मातहतमा राखिराख्ने प्रचण्ड दाउलाई बेलैमा ठम्याउन नसके हामी नेपालीले धेरै पछुताउनुपर्ने अवस्था आउने छ ।

एक हिसाबले प्रचण्डभन्दा विप्लवको नै नैतिक धरातल उँचो छ । सत्ता र सुविधाको लोभ उनलाई पनि नदेखाइएको होइन, तर त्यसलाई उनले अस्वीकार गरेकै हुन् । प्रचण्डको नेतृत्वको जनयुद्धको क्रममा सुरुबाटै ‘वर्गदुश्मन खतम’को नाममा व्यक्तिहत्याको घोषित नीति अपनाइएको थियो । तर, विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सुरुबाट नै व्यक्तिहत्याको नीति नरहेको स्पष्ट पार्दै आएको छ । सुरक्षफौजसितको भिडन्तलाई पनि प्रतिबन्धित नेकपाले हालसम्म छल्दै आएको छ जबकि प्रचण्डले भित्रभित्रै प्रधानमन्त्री ओलीलाई रक्तपातपूर्ण मुठभेडका लागि उक्साइरहेका छन् । हाल देशमा नयाँ गृहयुद्धका लागि आशिर्वाद लिन उनी संयुक्त राज्य अमेरिकाको राजनीतिक तीर्थाटनमा छन् ।

संक्रमणकालीन न्यायमा प्रचण्डको छिर्केदाउ
त्यतिमात्रै होइन, हिजोको माओवादी आन्दोलनकै सहयात्री तर हालका विरोधीलाई तह लगाउन प्रचण्डले संक्रमणकालीन न्यायलाई पनि आफ्नो औजारको रुपमा प्रयोग गर्न खोजेका छन् । प्रतिनिधिमूलक रुपमा संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्छ भन्नाको निहितार्थ पनि त्यही हो भनी बुझ्न गाह्रो छैन । कोहीलाई प्रतिबन्धित नेकपालाई सहयोग गरेको निहुँमा त कोहीलाई संक्रमणकालीन न्यायको नाममा दत्काएर र जेल हालेर पार्टीभित्र र बाहिरका आफ्ना विरोधीलाई तह लगाउने रणनीतिमा प्रचण्ड अगाडि बढेका छन् । त्यसकारण, नागरिक समाजले उनको त्यो क्रूर रणनीतिलाई असफल पार्दै पहिलो त प्रतिबन्धित नेकपालाई वार्तामा ल्याउन पहल गर्नु पर्छ । दोस्रो, संक्रमणकालीन न्यायका सवालमा हिंसाको राजनीतिबाट सत्तामा मोजमस्ती गरेका प्रचण्ड र उनका सारथी जसले विगतमा सम्पूर्ण व्यक्तिहत्यालगायतका अपराधका लागि निर्देशन गरेका थिए, तिनलाई कम्तीमा एकदेखि तीन वर्षसम्म प्रतिनिधिमूलक रुपमा जेल हालेर शान्तिप्रक्रिया टुङ्ग्याउनुपर्छ ।लेखक रमेश शर्माले साझा पोष्टमा लेखेका छन।

(लेखक स्वतन्त्र विश्लेषक हुन्)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार