logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेयर र वडा सचिवबिच कुटाकुट


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०७६

इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै मेयर चौधरीले वडा नं १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका हुन् ।

वडासचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएका थिए । ‘त्यसपछि मलाई कुटपिट गर्नुभयो,’ वडासचिव दाहालले भने, ‘मेरो मोबाइलसमेत खोसिदिनुभयो । भागेर ज्यान जोगाएँ ।’ कुटपिटबाट दाहालको आँखामा चोट लागेको छ ।

उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए । कार्यकक्षमा वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै उपमहानगरका कर्मचारीहरूले कार्यालय परिसरमा नाराबाजी गरेका थिए ।

उनीहरू कुटपिटविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिने तयारीमा छन् । ‘इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू जाहेरी लिनुपर्‍यो भन्दै आउनुभएको थियो । प्रक्रियाअनुसार आए जाहेरी लिन्छौं,’ डीएसपी समीरचन्द्र खरेलले भने ।

दुर्व्यवहार भएको विरोधमा कर्मचारीले इटहरी उपमहानगरपालिका कार्यालय र २० वटै वडा अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । बिहीबार उपमहानगरपालिकामा भेला भएर धर्ना दिने उनीहरूले बताएका छन् ।

कर्मचारी कुटपिटको विषयमा मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईमाथि समेत मेयरले दुर्व्यवहार गरेका छन् । पत्रकारमाथि दुर्व्यहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार