राजनीति
सत्तारुढ नेकपाको बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए ।बैठक पुष्पकमल दाहालले अध्यक्षता गरे ।बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले आ-आफ्ना धारणा राखेका थिए ।
दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरह्यो ।बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराए।
बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको भन्ने कुरा सुनाएतर अध्यक्ष ओली भन्जे आएनन ।
बैठकको शुरूमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली अर्को मिटिङमा व्यस्त भएकाले आउन नसकेको जानकारी गराउँदै बैठकमा भएको छलफल सुन्ने व्यवस्था भएको बताएका थिए ।
बैठकबाट केहीबेरका लागि बाहिर निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री अर्को बैठकमा व्यस्त भएकाले आवश्यकता पर्दा बैठकमा उपस्थित हुने बताए ।शुक्रवारको बैठकमा लीलामणि पोखरेल, पम्फा भुसाल, मातृका यादव लगायत ११ जनाले बोलिसकेका छन् ।स्थायी कमिटी बैठकमा प्रत्येक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको थियो ।
बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।