logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दाहाल-नेपाल आलोचना गर्ने क्लव, राजिनामा आउदैन, सकेको गरेहुन्छ : गोकुल बास्कोटा


  • राजनीति
  • आइतबार, साउन ४ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने ठोकुवा गरेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ को लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले पार्टीभित्रको विवाद पेचिलो बनेको कुरा आफूहरुले पनि महशुस गरेको बताए । तर, नेताहरुबीच कुरा मिल्ने उनको दाबी छ । प्रस्तुत छ बाँस्कोटासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद पेचिलो बन्दै गयो । प्रधानमन्त्रीलाई पदबाट हटाउन प्रचण्ड र माधवकुमार नेपालको रणनीति बन्यो । अब के हुन्छ, ठ्याक्कै भन्नुस् ?

तपाईले देखेको पेचिलो हामीले पनि महसुस गरेका छौँ तर कुरा मिलिहाल्छ ।

होइन कसरी मिल्छ ? प्रधानामन्त्रीले भन्नुभएको छ, म दुवै पद छोड्दिन, प्रचण्डले भन्नुभएको छ, तपाईले दुवै पद छोड्नुपर्छ । अनि कसरी मिल्छ ?

दुवै पद छोड्ने कुरा बाहिर चलेको हल्ला हो । दुवै पद छोड्दा पार्टीको सम्पूर्ण एकता पद्धतिदेखि लिएर पार्टीले सम्पादन गर्नुपर्ने काम अलि भविष्यसम्म के असर पर्छ, पार्टी जीवनमा, पार्टीको निरन्तरतामा, पार्टीको प्रभावकारितामा, पार्टीको जनसमर्थनमा, त्यो कुराहरू नेताहरूले महसुस गर्नुहुन्छ । त्यसैले मिल्ने आधार त यिनै हुन् नि ।

होइन, मिल्ने आधार छन् तपाईले भनिरहँदाखेरि हिजो पनि नेताहरूले भनेका छन्, अब प्रधानमन्त्रीले दुवै पद छोड्नुको विकल्प छैन । तपाई छोड्ने पक्षमा हुने कि नहुने ? त्यसोभए केन्द्रिय समितिको बैठकमा जाऔँ र तपाईलाइै हामी दुवै पदबाट हटाउँछौँ, प्रधानमन्त्रीबाट पनि, पार्टी अध्यक्षको पदबाट पनि ।

त्यो त प्रधानमन्त्री स्वीकार नै गर्नुभएको छ । जहाँ जहाँबाट निर्णय गर्नुपर्छ, त्यहाँ त्यहाँबाट विनाशको, विखण्डनको, जवाफदेहीताको, दण्डहीनताको, विश्वसनीयताको, एक प्रकारले ध्वस्त बनाउने कुराको, निराशाजनक अवस्थाको पार्टी एकतालाई कमजोर गराउने योजनामा आएर पार्टीमा अलि बढ्तै तनाव सिर्जना गर्ने कुराले हिसाबकिताब त गर्छ नि । ठिक/बेठिक फैसला गर्ने त जनताले हो ।

होइन, अहिले त जनताले भन्न थालिसके । सरकारले काम गर्न सकेन । नेपाल कम्युनिष्ट पार्टीको यो झगडा गाईजात्रा जस्तो भयो । गाईजात्रा आउँदैछ तपाईलाई थाहा छ ?

यसलाई गाईजात्राको रूपमा लिनुहुन्न । सरकारले काम गरिरहेको छ । आरोप लगाएर मात्र हुँदैन ।

होइन तपाईलाई थाहा छ । स्थायी समितिको बैठकमा पनि सरकारको आलोचना भयो नि ?

आलोचना त सरकारकै हुन्छ र समर्थन पनि सरकारकै हुन्छ । त्यो पार्टीको लागि बनेको हुँदैन । पार्टीलाई मतदान नगर्ने जनताको पनि सरकार पनि हुन्छ । सरकार त अर्को छैन यो देशमा । सरकार त अहिले नेकपाकै सरकार छ, केपी ओलीकै सरकार छ । आलोचना हुँदा पनि सरकारकै हुने हो । समर्थन हुँदा पनि सरकारकै हुने हो । सबै आलोचना मात्र कहाँ भएको छ ? राम्रा कामहरू हेर्ने हो भने तथ्यमा उभिएर खण्डन गरे भइहाल्यो । तथ्यमा उभिएर विरोध गरे भइहाल्यो ।

होइन, प्रचण्ड, माधवकुमार, झलनाथ खनाल, वामदेव गौतम लगायत शीर्ष नेताहरूले स्थायी समितिको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभएको छ । सचिवालयमा पनि राजीनामा माग्नेहरू छन् नि ?

राजीनामा माग्नेहरूको सूची बनाएरमात्र हुँदैन । गिरीजाको राजीनामा कसले माग्यो, देउवाको राजीनामा कसले माग्यो, माधवकुमारको राजीनामा पहिला कसले माग्यो, झलनाथको राजीनामा कसले माग्यो, राजनीतिमा के हुन्छ भने सत्ता पक्ष हुन्छ, प्रतिपक्ष हुन्छ । सर्मथक हुन्छन्, विरोधी हुन्छन् ।

तपाईकै पार्टीभित्र प्रतिपक्ष रह्यो, प्रधानमन्त्रीको विपक्षमा बहुमत छ नि ?

प्रतिपक्ष भन्दिन् म, त्यो आलोचना गर्ने कोही टिम नै बनाएको छ भने त्यो पूर्वाग्रही कुरा हुन जान्छ । सरकारमा नै भएको एउटा मन्त्री पनि कुनै कुरामा असन्तुष्ट हुन्छ । राज्यको क्षमताले कति गर्न सक्छ भन्ने कुरा र व्यक्तिको ईच्छाशक्ति र राज्यको क्षमताको सन्तुलन वा खाडलले जहिले पनि असन्तुष्टि र अन्र्तविरोधहरू जन्माइरहेको हुन्छ । सरकारले काम गर्न सकेन भने के के कुरामा ? सूची राखेर कुरा गर्नुपर्छ । प्रधानमन्त्री असफल हो भने के के मा ? खाली विकास भएन, काम भएन । काम के-के हुनुपर्ने ? चन्द्रमा खसाल्नुपर्ने ?

प्रधानमन्त्री ओलीले संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउन सक्नुभएन । विधि र विधान अनुसार चल्नुभएन । आजको दिनमा निर्देशन नमान्ने पक्षमा जानुभयो । पार्टीभन्दा ठुलो हुनुभयो रे वहाँ ?

माक्र्सवादी सिद्धान्त अनुसार ने.क.पा चल्ने कि म्याकावेलियन सिद्धान्त अनुुसार ने.क.पा. चल्ने ? के आधारमा समाजको दृष्टिकोण बनाउने, पार्टीको दृष्टिकोण बनाउने ? दायित्वको बारेमा दृष्टिकोण बनाउने ? यो त केही नेताहरूलाई चित्र बुझे नबुझेको आधारमा फैसला हुने कुरा होइन । हामी डेमोक्रेसीको अभ्यास गरिरहेका छौँ र डेमोक्रेसी पार्टीभित्र, बाहिर सबैतिर हुनुपर्छ । पार्टीमा अहिले डेमोक्रेसी केही कमजोर भएको छ । अहिले ने.क.पा संक्रमणकालमा चलेको छ । संक्रमणकालमा चल्दा माथिको निर्णयमा सबै कुरा डिपेन्डेन्ट भएर जान्छ । कार्यकर्तासँगको सल्लाह सुझावबाट धेरै काम गरिरहेको छैन । त्यसमा कयौँ आग्रह छन्, आग्रहले काम गरेर कमिटिहरू बनेका, नबनेका छन् । त्यसैले मुख्य काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर, किन गर्ने ? पार्टी एकदम सहज अवस्थामा थियो भने डेमोक्रेसी राम्रो हुन्थ्यो, पार्टी एकदम संक्रमणकालमा चलिरहेको छ भने त्यस्तो अवस्थामा संकटहरू देखिनु, बेमेलहरू देखिनु, बेलाबेलामा स्वाभाविक हुन जान्छ । तत्कालीन अवस्थामा अध्यक्षमा के.पी. ओलीले जितेको, तत्कालीन अवस्थामा पुष्पकमल दाहाल (प्रचण्ड) ले अध्यक्ष लिड गरेको, वहाँहरूको सर्वसम्मत नै भएको थियो । यी दुइजना नेताहरू मुख्य स्ट्याकहोल्डर हो । दुइजना नेताहरूबीचको कुरा अहिलेको स्थितिमा सबैभन्दा प्रभावकारी हुन्छ । दुवैजनाको बीचमा समझदारी हुन्छ । अरूको असन्तुष्टि रहन सक्छ । त्यसैले प्रधानमन्त्रीमाथिको निरन्तर आलोचना, क्लब बनाएर सधैँ आलोचना गर्नुहुन्न । बेकारको कुरा गरेर हुन्छ ? निहुँ खोजेर जाँदा सबै हुन्छ ।

सबै निकायमा प्रधानमन्त्री अल्पमतमा हुनुहुन्छ । प्रधानमन्त्रीले सबैलाई केन्द्रिय समितिमा फेस गर्छु भन्दाखेरि वहाँ अल्पमतमा हुनुहुन्छ । वहाँलाई अध्यक्षबाट हटाइयो भने केन्द्रिय समितिले त्यतिखेर के गर्ने ?

अनटेस्टेड नेता को छन् र यहाँ ? सबै टेस्टेड नेता हुन् । टेस्टेड नेताहरूले धेरै कुरा गर्नुहुन्न । आफ्नो कार्यकालमा सबैले गरेकै छन् । ३०औं वर्षदेखि नेताको पुञ्ज त एउटै छ । छुट्टै रातारात नयाँ नेताहरूको जन्म भएको छ र अहिले ? यदि त्यस्तो कुरा गर्ने हो भने सेकेण्ड जेनेरेसनमा गए भयो । सचिवालय चलाउन सचिवालय फेल भयो । सचिवालय संख्या गन्न बस्ने टिम हो कि राजनीतिक, वैचारिक, संगठनिक अरू विभिन्न ढंगले सुझाव दिनुपर्ने हो । पार्टीमा गति पैदा गराउनुपर्ने हो । नमिलेको कुरा मिलाउनुपर्ने हो । जायज कुराहरू सुन्नुपर्ने हो । तथ्यमा आधारित कुराहरू हेर्नुपर्ने हो । सरकारले काम गरेको तथ्य प्रमाण पेश गरेकै छ ।

तर, यहाँको पार्टीमा नेताहरू सन्तुष्ट छैनन् । नेताहरूको असन्तुष्टि बढेको छ नि ? के भन्नुहुन्छ ?

हरेक निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू भएका छन् कि छैनन् ? स्थानीय तहको सरकारले त्यहाँ नेतृत्व गरिरहेको छ । वडाले पनि शक्तिशाली बनाइरहेको छ । बजेट आएकै छ । काम भएकै छन् । बाटो खनेकै छ । पुल बनाएको छ , रेलवेको काम पनि चलेको छ, बाटो पीच गर्ने काम पनि चलेको छ, वृक्षारोपण हुने काम पनि चलिरहेको छ, विपद् व्यवस्थापन पनि चलिरहेको छ, पूँजी परिचालन पनि भइरहेको छ, हिजो मात्र मौद्रिक नीति आएको छ, त्यसले कोरोनाले ध्वस्त भएको अर्थतन्त्रलाई सन्तुष्ट हुने गरेर हाम्रो क्षमताले भ्याएसम्म सन्तुष्ट हुने गरी कृषि, पर्यटन, उद्योग, बैंकिङ्ग सेक्टर, घरजग्गा कारोबार भएको छ ।

सबैलाई समेट्ने गरी मौद्रिक नीति आयो होला तर पार्टीभित्रको समस्या छ ।

ल म भनिदिन्छु, प्रधानमन्त्रीले दुइटै पदबाट राजीनामा दिनुहुन्न । अब के गर्ने ?

हटाउने पनि भनेको छ, केन्द्रिय समितिबाट ?

हटाए भयो त भनिसकेँ नि मैले । पार्टी अध्यक्षबाट राजीनामा दिनै मिल्दैन ।

किन दिन मिल्दैन ? वहाँ त अल्पमतमा परिसक्नुभयो । केन्द्रिय समितिले अल्पमत दिएपछि केन्द्रिय समितिले निर्णय दिन सक्दैन ।

अल्पमत, बहुमत भन्ने गणित छैन अहिले । त्यो बेकारको कुरा हो । त्यसको लागि महाधिवेशन गर्नुपर्छ । एउटा पार्टीमा दुइटा पाइलट नराख्ने र एउटै पाइलट राख्ने, त्यो समझदारी गरे भयो । को–पाइलट भनेको अध्यक्षबाहेकका अरू हुन् । अध्यक्ष दुइटा राखेर पार्टी चल्छ त ? चलाउनै पर्ने छ भने त्यो बेग्लै कुरा हो । यदि त्यही गर्ने हो भने दुइटा अध्यक्ष हुँदैन । अध्यक्ष होला, सहअध्यक्ष होला, उपाध्यक्षहरू होलान्, महासचिव होला । एक जनामा शक्ति केन्द्रित नहोस् भनेर मदन भण्डारीले पार्टी जीवनमा लोकतन्त्र उठाएका थिए । समावेशिताका कुरा छन् । जनताले नै नेता छनोट गर्ने हिसाबले गए भईहाल्छ । डेमोक्रेसी भनेको नेताहरू मात्रै शक्तिशाली हुने कुरा होइन, आम जनता नै शक्तिशाली हुने कुरा हो ।

तपाईको पार्टीको विधानमा प्रष्ट रूपमा लेखिएको छ, एक व्यक्ति एक पद । प्रधानमन्त्रीले दुवै पद लिन मिल्दैन । पार्टीको विधान विपरीत हुन्छ भनेर माधवकुमार नेपालले भन्नुभएको छ ?

माधवकुमार नेपालकै पालामा महासचिव भएर वहाँ उपप्रधानमन्त्री भएर जानुभयो । विभाजनसम्म गएका दुःखद इतिहास पनि छन् । त्यसैले माधव कमरेडको पालामा एकल लिडरसिप थियो । त्यहाँ बहुपद पनि थिएन । वरिष्ठ नेता भन्ने पनि थिएन । एउटा कलेक्टिभ पनि थियो । अहिले सबै कुरा अन्तरिम छ । अन्तरिम स्थिति र एब्सोलुट स्थितिमा फरक पर्छ । धेरै कचकचले केही पनि हुँदैन, त्यो तथ्य हुन जाँदैन । कुरा त तथ्यमा गर्नुप¥यो, आरोप, प्रत्यारोपमा होइन । माधव कमरेड पार्टीको नेता हो । माधव कमरेड प्रधानमन्त्री हुनुभएको छ । माधव कमरेड १५ वर्ष पार्टीको प्रमुख नेता हुनुभएको छ । माधव कमरेड अहिले पनि पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । माधव कमरेडको भूमिका, योगदान, क्षमताबाट पार्टीले त्यसको लाभ लिइरहेको छ । व्यक्तिसँगको धेरै कुरा नगरौँ । म माधव नेपाललाई सम्मान गर्छु ।

स्थायी समितिको बैठक स्थगन भइसकेपछि धेरै नेताहरूले लाजमर्दो भयो, लजास्पद भयो भनेका छन् ?

मैले पढेको छु नेताहरूको ट्वीट पनि । नेताहरूले सोसियल साइटमा गरेको टिप्पणीहरू पनि हेरेको छु । कहिले कहिले म पनि टिप्पणीहरू गर्ने गर्छु तर मेरो एउटा साधारण कुरा छ ।

भीम रावलको ट्वीट पढ्नुभयो ?

निर्वाचन भएकै हो दुइटा नेताहरूको बीचमा । माधव कमरेड र के.पी. ओली बीचको सहकार्य पनि हेरेको छु मैले । वहाँहरू पहिला कसरी मिल्नुहुन्थ्यो । राजनीतिमा सहकार्य र प्रतिस्पर्धा सँगैसँगै चल्छ । त्यो कुनै अनौठो कुरा होइन । त्यसमा उत्तेजित हुनुपर्ने कारण नै देखिँदैन । त्यसैले यो फजुल कुरा गरेर समयको बरबाद गरेर हुँदैन । राष्ट्रिय दायित्व बोकेर सरकार चलाइरहेको पार्टीले एकले अर्कालाई आरोप गर्नुभन्दा सल्लाह गर्नुपर्छ । मोर्चा छ, मोर्चालाई अलगअलग गरौँ । माओवादीको माओवादी नै भयो, उसको चिन्ह जे छ, त्यही लिएर जान्छ । एमाले एमाले नै भयो । के तर्क गर्नु, तर्क वितर्क ठिकै छ, हदैसम्म टोलटोलसम्म पक्ष र विपक्ष उतार्नुपर्ने भनेको शक्तिको क्षयीकरण हो । महाधिवेशनको मत खण्डित नभएको प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न । प्रधानमन्त्री जनताले निर्वाचित गरेको हुनाले राजीनामा दिनुहुन्न ।
जनताले निर्वाचित गरेको होइन प्रधानमन्त्रीलाई, संसदीय दलले, संसद्को नेता चुनेर के.पी. शर्मा ओलीलाई बनाएको हो ।
स्थिरताभित्र के के पर्छ, नीतिगत स्थिरता पर्छ , पार्टीहरूको स्थिरता पर्छ, सरकारको स्थिरता पर्छ । टाइम एण्ड फ्रेम हुन्छ । पाँच वर्ष सरकारको स्थिरता, पाँच वर्ष पार्टीको स्थिरता । एकोहोरो सरकारको स्थिरता भनेर भनेको होइन । नीतिहरूको स्थिरता भन्नाले हामीले कृषिमा लिने अर्थनीतिमा मूलभूत रूपमा विकास निर्माण समृद्धिलाई यात्रा बनाइसकेपछि त्यसतर्फ जानको लागि नीतिगत निरन्तरता पनि जरुरत पर्छ । कसैले कोठाभित्र मात्रै साउती गर्छ, कसैले बाहिर भनिदिन्छ, यो आफ्नै कुरा हुन्छ । ३ करोड जनताको आफ्नै शैली छैनन् ? प्रधानमन्त्रीको पनि शैली छ । कमरेड प्रचण्डको पनि शैली छ । माधव नेपाल कमरेडको पनि शैली छ । मेरो पनि आफ्नै शैली छ । शैलीहरूको बारेमा झगडा गरेर, जात्रा निकालेर प्रधानमन्त्रीको राजीनामा माग्न मिल्दैन । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न । एउटा मात्र पाटो हुन्न सिक्कामा दुइटा पाटो हुन्छ ।

प्रधानमन्त्रीले स्थायी समितिको बैठक फेस गर्न सक्नुभएन । त्यसैले बैठक स्थगन पार्टीको छवि बिर्गानुभयो रे । भीम रावलको पनि प्रतिक्रिया आएको छ ?

क्रिया, प्रतिक्रिया आइरहने त हो नि राजनीतिमा , जीवनमा पनि आइरहन्छ, त्यो कुरा स्वाभाविक हो । सबैभन्दा बेस्ट सोलुसन भनेको महाधिवेशन हो । पार्टीको महाधिवेशन गरौँ । पार्टीका सदस्यहरूको विवाद हल गरौँ । कमिटिहरू जहाँ जहाँ बन्न बाँकी छ, त्यसलाई बनाएर लैजाऔँ । टोलसम्मका कमिटिहरू बनाउने कुरा, त्यो गरौँ । तथ्य सत्यका आधारमा सदस्यहरूको पुनः पुष्टि गरौँ । अन्तिममा कुनै ९ रेक्टरको भुकम्प आउनेवाला छैन । यो थाहा पाए हुन्छ सबैले । यो विकल्प नै छैन, ध्वस्त बनाउने बाटोमा कोही जानै सक्दैन । उनीहरू बाँधिएका छन् । सल्ला र हल्लाको होहल्लाको बीचमा हामी यति कुद्छौँ, फेरि वर्षदिनपछि त्यो त होइन रैछ, बेकारको कुरा, समयको खर्च भनेर हामी टाउकामा हात राख्छौँ । यो हाम्रो अभ्यस्त चलन हो । समाज पनि यसैगरी कुद्छ । शक्तिको रूपमा कार्यकर्तालाई मान्नुपर्छ । पार्टी मूलभूत रूपमा कार्यकर्ता हो । महाधिवेशन नै समाधान हो ।

त्यसोभए मंसिरमा महाधिवेशन हुन सक्छ ? महाधिवेशन कहिले गर्ने ? चैतमा कि मंसिरमा ?

जहिले गरे पनि महाधिवेशन, मिति तोके भइहाल्यो । महाधिवेशनको मिति तोक्नलाई के गा¥हो छ ? फागनु चैततिर गरे पनि हुन्छ । जेठतिर गरे पनि हुन्छ । पार्टी एकता भएको दिनलाई मानेर त्यही दिनमा गर्दा पनि भयो, जेठ ३ गते । डेटको बारेमा तोक्ने मेरो जिम्मा होइन । मैले खाली आफूलाई लागेको कुरा भनिदिने हो । आधा खोला तरेर आफु पनि बग्ने र दुनियाँलाई पनि बगाउने काम हुन सक्दैन । यो कुरा हामीलाई भन्दा बढ्ता ती दुइजना नेताहरूलाई थाहा छ ।

प्रधानमन्त्रीले यो पद छोड्दै हुनुहुन्छ रे । प्रधानमन्त्री कि त पार्टी अध्यक्ष, हो ?

प्रधानमन्त्री सधैँ कुनै पनि पदमा बस्न सक्नुहुन्न । अहिले किमार्थ त्यो सम्भव छैन, त्यो हुँदा पनि हुँदैन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार