logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा स्थायी समिती बैठक आज, कसका लागी १ सिट खाली बनाइदै ?


  • राजनीति
  • शुक्रबार, भाद्र २६ २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ ।

विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त प्रस्ताव तयार गरेसँगै विवादको टुंगो लागेको हो ।

तीन महिनादेखि जारी विवाद अध्यक्षद्वय ओली–प्रचण्डको संवाद र कार्यदलको सुझावको आधारमा समाधान भएको छ । झन्डै फुटको संघारमा पुगेको पार्टी अन्ततः अधिकार बाँडफाँडमा पुगेर मिलेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा प्रकरणबाट शुरु भएको विवाद झन्डै तीन महिना लम्बिएको थियो । गत असारमा शुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिका बहुमत सदस्यले माग गरेपछि विवादले उग्र रुप लिएको थियो ।

पार्टीभित्र विचार सिद्धान्तभन्दा पनि पद बाँडफाँडमा कुरा नमिल्दा शुरु भएको विवाद पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यकारी अधिकार प्रचण्डलाई दिन राजी भएपछि लेनदेनमा टुंगिएको छ ।

आन्तरिक विवादले फुटको संघारबाट जोगिएको नेकपाले संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी मापदण्ड बनाएर सहमतिमै सरकार र पार्टी सञ्चालन गर्ने नीति लिएको छ ।

विगतमा पनि सहमति हुने तर कार्यान्वयन नहुने समस्या दोहोरिएपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटीरुपमा अगाडि बढेको आरोप लगाउँदै अध्यक्ष वा प्रधानमन्त्री दुईमध्ये एक पदबाट राजीनामा दिन लगाउने नीति लिएका थिए ।

तर प्रधानमन्त्री ओलीको अडानको कारण तत्काल अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहने र बाँकी कार्यकाल सरकार सञ्चालन गर्ने गरी अगाडि बढ्न सफल भएका छन् ।

तीन महिना अघिबाट शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक आजका लागि बोलाइएको छ ।

स्थायी कमिटीको बैठक सगै नेकपामा मन्त्री बन्नेहरुको चलखेल सुरु भएको छ । जस मध्य महासचिव विष्णु पौडेल मन्त्री बन्न तयार छैनन् । उनले पार्टीकै जिम्मेवारी लिने सोच बनाएका छन् । तर, ओलीका विश्वासपात्र शंकर पोखरेल मन्त्री बन्ने सम्भावना बढेको छ । उनले प्रदेश ५ को मुख्यमन्त्री छाडेर अहिलेलाई छ महिना मन्त्री बन्नेबारे छलफल चलाएका छन् ।

ओलीले पनि पोखरेललाई सिंहदरबारमा प्रवेश गराउन खोजेका छन् । उनका लागि एउटा सिट राष्ट्रियसभा सदस्य खाली बनाउने सम्मको तयारी छ ।

माधव नेपाल समुहबाट सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । उनले अर्थमन्त्री ताकेका छन् । तर, ओली आफ्ना विश्वासपात्रबाट अर्थमन्त्री अन्यत्र पठाउने चाहना गरिरहेका छैनन् । सञ्चार मन्त्रालयमा पनि धेरैको दाबी छ । ओलीले सञ्चारमन्त्री बनाएर आफ्ना एकजना विश्वासपात्रलाई सरकारको प्रवक्ता बनाउन खोजेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार