राजनीति
नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको ७ बर्ष पुग्दैछ । नेपाल कम्युनिस्ट पार्टीले सातौं पार्टी पुनर्गठन दिवसलाई देशभर भव्य रुपले उत्सवको रुपमा मनाउने भएको छ । नेकपाले मंसिर ८ गतेलाई उत्सवको रुपमा मनाउने बताएको छ ।
पार्टी पुनर्गठन दिवसको रुपमा मङ्सिर ६, ७ र ८ गते विभिन्न कार्यक्रमहरु गरेर मनाउने नेकपा स्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार ६ गते पार्टी प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलाप गर्ने, ७ गते देशभर जनप्रदर्शन र सभा, ८ गते जनतासँग उत्सवको रुपमा मनाउने बताइएको छ ।
२०७१ मंसिर ८ गते नेकपा पुनर्गठन भएको थियो । यसअघि २०६९ असारमा जनयुद्धका मूल नेतृत्व प्रचण्ड बाबुराम लगायतका नेतृत्वमा वैचारिक विचलन वा संसदीय पुँजीवादमा उनीहरुको आत्मसमर्पण भएपछि मोहन बैद्यको नेतृत्वमा नेकपा–माओवादी बनेको थियो ।
नेकपा–माओवादीमा पनि अकर्मण्यता देखिएपछि नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी नेकपा माओवादी पुनर्गठन भएको थियो । २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । २०७३ मा नेकपा (माओवादी) को आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेको थियो ।
नेकपाले पार्टी पुनर्गठन भएपछि हरेक बर्ष पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ । मंसिर ८ गते क्रान्तिकारीहरु जनताका लागी ऐतिहासिक दिन हो । अर्थात् तत्कालीन नेकपा माओवादीले जनमुक्ति सेना स्थापना गरेको दिन हो । जनमुक्ति सेना स्थापनासँगै प्रतिक्रियावादी सेनामाथि हमला गरिएको दिन हो । यो एक ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिन पनि हो ।
अहिले नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा सहित वैज्ञानिक समाजवाद प्राप्तिका लागी क्रान्तिलाई अगाडी बढाइरहेको छ ।सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको छ । यसक्रममा नेकपाका कैयौं नेता कार्यकर्ताहरु जेल हिरासतमा रहेका छन् । प्रतिबन्धको बाबजुद नेकपाले देशभर पार्टी पुनगर्ठन दिवसलाई भव्य रुपले उत्सवको रुपमा मनाउन लागेको छ ।
नेकपाले देशभरमा मनाउने भएता पनि केही जिल्लाहरुमा विभिन्न खाले बिशेष कार्यक्रम गर्ने बुझीएको छ । पार्टी पुनगर्ठन दिवसलाई भव्यताका साथ मनाउने बताएको छ । पार्टी पुनगर्ठन दिवसको अवसरमा नेकपाले सहिद, बेपत्ता तथा घा’इते परिवार, स्थानीय जनता, समर्थक, शुभेच्छुक, नेता कार्यकर्ताहरुबीच विभिन्न सिर्जनात्मक कार्यक्रम तथा भेटघाट गरेर उत्सवको रुपमा मनाउने नेकपा कार्यालयले बताएको छ ।
