logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राजावादीको प्रदर्शन : भारतिय सेना प्रमुखकाे सनसनीपुर्ण खुलासा


  • राजनीति
  • शनिबार, मंसिर २० २०७७

नेपालमा राजावादीहरुले प्रदर्शन गरिरहदा भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल डा.जीडी बक्सीले हालै दुई वटा ट्वीटमार्फत भारतले बदलास्वरूप नेपालबाट हिन्दू राजतन्त्र हटाएकोमा पाप ठहर सहित प्रायश्चित गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार,माओवादीलाई सत्तारोहण गराउन मार्ग प्रशस्त गर्नु मूर्खतापूर्ण गल्ती हो । नेपालमा सत्तारुढ दल नेकपाभित्रको किचलो चुलिमा पुगेको,राजनीतिक दलहरूप्रति जनताको मोह घटेको सन्देश फिँजाइएको र यहि मेसोमा राजावादीहरूले समेत मुलुकभर उल्लेख्य संख्यामा जुलुस निकालिरहेको बेला बक्सीले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले सन् १९८८ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले गरेको नेपालको राजकीय भ्रमणमा सँगै आएकी उनकी श्रीमती तथा हाल भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्न नदिइएको सन्दर्भलाई पनि राजतन्त्र हटाइएको विषयसँग जोडेका छन् । राजतन्त्र हटाइएको घटनामा उनले श्रीमती गान्धीको हात रहेको सन्दर्भ जोड्दै ‘नेपाल र नेपालीसँग दुई दशकअघिको रिसको बदला लिएको ’बक्सीले आरोप लगाएका छन् ।

बाघ कराउने र बाख्रा हराउने भनेझैँ यता नेपालमा पनि २०६२-६३ सालको जनक्रान्तिमा गणतन्त्रको माग नहुँदा नहुँदै एकाएक राजतन्त्र हटाउँदै धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको आरोप लाग्दै आएको छ । त्यहि आरोपलाई प्रमाणित गर्ने खेलमा अहिले राजावादीहरू खुलेर लागिपर्नुलाई पनि नजरअन्दाज गर्न नमिल्ने गरी घटनाक्रम अघि बढेको राजनीतिक विश्लेषणहरूले टिप्पणी गरेका छन् ।

हेर्नुस् ट्विट

सोनिया राजीवसँग वैवाहिक सम्बन्ध कायम राख्नु अघिसम्म सोनिया मैनो अर्थात इटालियन नागरिक थिइन् । सन् १९४६ को डिसेम्बर ९ मा इटालीको लुजियाना,भेनेटोमा जन्मेकी सोनियाले राजीवसँग सन् १९६८ मा विवाह गरेकी हुन् । उनी सन् १९८३ सम्म इटाली र त्यसदेखि यता भारतीय नागरिक छिन् । उनलाई भारतमा पनि कट्टर हिन्दूवादी र केही राजनीतिक दलहरूले गैर भारतीय र गैरहिन्दू भन्दै बेलाबखत उछित्तो काढ्ने गरेका छन् ।

राजतन्त्र हटाउनेमा गान्धीको भूमिकासँगै बक्सीले सत्तारुढ नेकपाको एउटा पूर्व घटक माओवादीलाई सत्तामा पुर्याउनेसम्मको सहयोगमा भारतीय संस्थापन पक्षले ठूलो गल्ती गरेको भन्दै सांकेतिक अर्थ लाग्ने गरी लेखेका छन् । यहि बेलामा सत्तारुढ दल नेकपाभित्र ठूलो अन्तरबिरोध चर्किएको छ । त्यहि मौका छोपेर राजावादी संघ संगठनहरूले राजतन्त्र पुनर्स्थापनासँगै गणतन्त्रबिरुद्ध नारा घन्काउन थालेको सन्दर्भलाई हलुका ढंगले लिन नहुने बताइन्छ । किनकि उक्त कुरा बक्सीले ट्वीटमा राजावादीहरुको प्रदर्शनको तस्बिरसहित उल्लेख गर्नुुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार