logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

ओली खुमलटार गएर प्रचण्डको पुच्छर बन्नुभएछ : भीम रावल


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री ओली पनि प्रचण्ड निवास पुगेकोमा प्रसङ्ग निकाल्दै सहमतिका लागि प्रयास गर्नु राम्रो भएको बताएका छन्। रावलले ट्वीट गर्दै आफूहरु खुमलटार जाँदा प्रचण्डको पुच्छर भएको भन्ने ओलीले अब के गर्छन् भन्ने प्रश्न पनि गरेका छन्।

रावलले लेखेका छन् – बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।

यसअघि प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारलाई गुटको मुख्यालय भन्दै खुमलटार जानेहरुलाई पुच्छरको संज्ञा दिएका थिए। रावलले ओली र उनीसर्मथक नेताहरुप्रति कटाक्ष गर्दै ओली नै खुमलटार पुगेपछि त अरुलाई पुच्छर नभन्लान् नि भन्दै व्यंग गरेका हुन्।

रावलले नेताहरुबिच कुराकानी हुनु र सहमति खोज्नु राम्रो कुरा भएको लेखेका छन्। उनले सहमति नभए नेताहरुले विधि र प्रक्रियामार्फत् समाधान खोज्न तयार हुनुपर्ने पनि उनले उल्लेख गरेका छन्।

नेकपाको आइतबार बस्ने स्थायी समितिको बैठकको पूर्वसन्ध्यामा ओलीले सहमतिका लागि भन्दै नेताहरुलाई भेट्न थालेका हुन्। सबैतिरबाट कर्नरमा परेपछि स्थायी समिति बैठक पर धकेल्न र नेताहरुलाई अल्मलाउन ओलीले अर्को जुक्ति निकाल्न थालेको नेताहरुले आशंका व्यक्त गरेका छन्। खुमलटारबाट फर्किएपछि ओली पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा पुगेका थिए।

गत बुधबार बसेको पार्टी स्थायी समिति बैठकले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिए पनि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन। स्थायी समिति बैठकको सर्वसम्मत निर्णय लागू नगरेर ओलीले त्यसलाई ‘बार्गेनिङ टुल्स्’ बनाएका छन्। ओलीले प्रष्ट भाषामा अध्यादेश फिर्ता गर्दिनँ नभने पनि यसलाई राजनीतिक हतियार बनाउन खोजेको नेताहरुको विश्लेषण छ।

शनिबार बिहान खुमलटार पुगेर पनि ओलीले पूरानै कुरा दोहोर्‍याएका छन्। उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई आफूमाथि लगाएको अभियोगसहितको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। प्रस्ताव फिर्ता लिन प्रचण्डले इन्कार गरेपछि ओली गृहमन्त्री निवास पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार