logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आज प्रचण्डको शक्ति प्रदर्शन, कुन नाकामा को कमाण्डर ?


  • राजनीति
  • शुक्रबार, माघ ९ २०७७

प्रतिनिधिसभा विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपा (बहुमत) ले भोलि (माघ ९ गते ) उपत्यकामा बृहत जनप्रदर्शन गर्दैछ। डेढ लाख मानिस काठमाडौं उतार्ने तयारी गरेको भन्दै उसले प्रदर्शनलाई भव्य र व्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ । केन्द्रीय संघर्ष समितिको संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सात बूँदे निर्देशिका जारी गर्नुभएको छ।

निर्देशिकामा प्रत्येक प्रदेश,जिल्ला,जनवर्गीय संगठन र मोर्चा संगठनहरुले प्रदर्शनमा सहभागिता जनाउने भनेको संख्यामा नघटाउनेगरी अनिवार्य उपस्थिति गराउन निर्देशन दिइएको छ । साथै बिहान पौने ११ बजे तोकिएको आर्कमा आइपुग्न पनि भनिएको छ। जारी निर्देशिकामा हरेक संगठनले सहभागीहरुको सवारी साधन नम्बर,संख्या तथा सहभागीको नाम, ठेगाना र फोन नम्बरसहितको कूल संख्या बुझाउनु पर्ने बताइएको छ। सार्वजनिक सवारी साधनमार्फत आउनेको सूची पनि बुझाउन भनिएको छ।

उपत्यकाका १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोक्दै निर्देशिकामा प्रत्येक आर्कको नेतृत्व गर्ने नेता,जुलुसको रुट (बाटो) र सहभागी हुने पार्टी कमिटी र संगठनको नाम तोकिएको छ। जसअनुसार माइतीघरबाट शुरु हुने जुलुसमा काठमाडौँ क्षेत्र नम्बर १ र २, भक्तपुर,काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला कमिटी र पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, ईञ्जिनियर, शिक्षक र प्रदेश नं २ लाई तोकिएको छ । माइतीघर, भद्रकाली, शहीदगेट, एनएसी, भोटाहिटी हुँदै रत्नपार्क पुग्ने उक्त जुलुसको नेतृत्व गणेश साह, गिरिराजमणि पोखरेल, मात्रिका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडालगायतले गर्नुहुनेछ ।

त्यसैगरी, डिल्लीबजार चारखाल आर्कको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्नुहुनेछ । सो आर्कमा काठमाडौँ निर्वाचन क्षेत्र ३, ४ र ५ का नेता-कार्यकर्ता सहभागी हुनेछन् । डिल्लीबजारबाट शुरु हुने जुलुस पुतलीसडक चोक, प्रज्ञाभवन, घन्टाघर हुँदै सभास्थल रत्नपार्क पुग्नेछ। तेस्रो आर्कका रुपमा तोकिएको लैनचौरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ६ र ७ तथा रसुवा र नुवाकोट जिल्लाका नेता-कार्यकर्ता उपस्थित हुनेछन् । लैनचौरबाट शुरु हुने जुलुसको नेतृत्व नेताहरु भीम रावल,शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले गर्नुहुनेछ । जुलुस लैनचौर, अस्कल,असन, भोटाहिटी हुँदै रत्नपार्कमा पुगेर बिशाल जुलुसमा सहभागी हुनेछ। काठमाडौँ निर्वाचन क्षेत्र नं ८, ९ र १० तथा धादिङ,चितवन, मकवानपुर र गण्डकी प्रदेश सह्भागी हुने त्रिपुरेश्वर आर्कको नेतृत्व नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नुहुनेछ । त्रिपुरेश्वर, एनएसी, भोटाहिटी हुँदै जुलुस रत्नपार्क पुगेर मुख्य जुलुसमा मिसिनेछ।

यता, कुपण्डोल आर्कमा ललितपुर जिल्ला ,खेलकुद र सुकुम्बासी संगठनका नेता-कार्यकर्ता सहभागी हुनेछन् । यहाँको नेतृत्व नेताहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दबहादुर थापाले गर्नुहुनेछ। कुपण्डोलबाट शुरु हुने यहाँको जुलुस थापाथली, माइतीघर,भद्रकाली,एनएसी भोटाहिटी हुँदै रत्नपार्क पुग्नेछ। प्रदर्शनीमार्गको नेतृत्व जनार्दन शर्मा र घनश्याम भुषालले गर्नुहुनेछ। सो आर्कमा सम्पर्क कमिटी, आदिवासी-जनजाति, बाँकी अन्य जनसंगठनहरुले सहभागिता जनाउनेछन्। पुतलीसडक चोकबाट शुरु हुने यहाँको जुलुस प्रज्ञाभवन, घण्टाघर हुँदै रत्नपार्कमा पुगेर सभामा मिसिनेछ। नेताहरू नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले नेतृत्व गर्नुहुने शान्तिवाटिकाको जुलुसमा मजदुर संगठनका नेता-कार्यकर्ता रहनेछन्। त्यस्तै, त्रिचन्द्र कलेजमा विद्यार्थीहरुको आर्क तोकिएको छ। त्यहाँको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नुहुनेछ।

अमृत बोहोरा, मुकुन्द न्यौपाने र बिष्णुपुकार श्रेष्ठलाई वाल्मिकी कलेजबाट शुरु हुने जुलुसको नेतृत्व दिइएको छ। जुलुसमा सबै पेशागत संगठनका नेता-कार्यकर्ता रहनेछन्। वाल्मिकी कलेजबाट शुरु हुने जुलुस पुतलीसडक, प्रज्ञा भवन, घन्टाघर हुँदै रत्नपार्क पुग्नेछ। त्यसैगरी,मंच तथा नेतृत्व सुरक्षाको जिम्मेवारी राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखालाई तोकिएको छ। निर्देशिकामा जुलुसको नेतृत्व गर्ने पार्टी नेताहरु र स्वयमसेवकबीचको समन्वय अनिवार्य भनिएको छ । सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मूल जुलुसमा परिणत हुनेछ ।

उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक,प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, एनएसी भोटाहिटी रत्नपार्क, विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुनेछ । निर्धारित आर्कबाट जुलुस प्रदर्शन शुरु गर्ने र मूल जुलुसमा जोडिने विषयमा केन्द्रीय संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईसंग सम्पर्क गरी उहाँको निर्देशन पालना गर्न भनिएको छ। जुलुसमा तोकिएको बाहेक नारा लगाउन पाइने छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार