राजनीति
बुटवल : ‘एक्सक्युज मी सर, यु निड टुर गाइड ? ’ ‘आई क्यान गिभ यु इन्फर्मेसन अबाउट इनिसेन्स तिलौराकोट ।’ प्राचीन तिलौराकोटको अवलोकन गर्न पुग्ने प्रायःले सुन्ने शब्द हुन् यी। यस्तो आग्रह अरू कोही नभएर नौ वर्षीय बालक राहुल ‘रिंकु’ साहनी हुन्। कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ५ मा पढ्ने राहुल बाल टुर गाइड हुन्।
राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको दुई वर्ष भयो। बुद्धले २९वर्ष बिताएको दरबार नजिकै घर रहेका राहुललाई तिलौराकोटको विषयमा जानकारी नभएको कुरा सायदै होला। ‘तिलौराकोटका विषयमा लेखिएका किताब पढेर जानेको हुँ, उन ले भने। उनको घरमा कपिलवस्तुको बारेमा लेखिएका किताबहरू प्रशस्त छन्। विद्यालयबाट छुट्टी भएपछि उनी तिलौराकोट गेट छिर्छन्।
त्यहाँ आउने स्वदेशी विदेशी जुनसुकै पर्यटकलाई पनि गाइड गर्छन्। ‘यहाँ आउने सबैले तिलौरा कोटको बारेमा जान्नुपर्छ, हेरेर मात्रै त सबै थाहा हँुदैन नि,’ उनले भने। नौ वर्ष उमेर भए पनि उनी निकै पाको र भलाद्मी छन्। तिलौराकोटको पूर्वीद्वार देखि पश्चिम द्वारसम्मका सबै पुरातात्त्िवक वस्तुहरूको उनलाई ज्ञान छ। तिलौराकोट उत्खननको सुरुआतदेखिको जानकारी उनलाई सबै थाहा छ।
पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातांै शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका कुरा पनि उनले खर्रर बताउँ छन् । पछिल्लो समय बेलायतको दुराम विश्वविद्यालय र पुरातत्त्व विभागले गरेको उत्खनन उनले सबै हेरे। के के भेटिए भन्ने ज्ञान बटुलेका छन्। त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरा लगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्व विद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्त्व विषयका विद्यार्थी समेत उत्खननमा क्रियाशील छन्।
तिलौराकोटमा ईपू छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण सुरु भएको पाइएको छ। उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिक स्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको बताइन्छ। साथै, दरबारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष कता थियो भन्ने जानकारीसमेत साहनीले पर्यटकलाई गराउँछन्। स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको पनि उनलाई थाहा छ।
साहनी गाइड गरेर पैसा कमाउँछन्। उनको बाबुआमा किसान हुन्। घरमा बलियो आर्थिक स्रोत छैन। उनका भाइबहिनी पनि स्कुल पढ्छन्। साहनी आफ्नो विद्यालयको फी आफंै तिर्छन्। ‘महिलामा तीन हजार/पैतीस सय हुन्छ, यो सबै फी तिर्न पुग्छ, उनले भने । उनी यसपालि कक्षामा तेस्रो स्थान हासिल गरे। स्कुल बिदा भयो कि उनी गाइड गर्न आइपुग्छन्। उनले टुरिस्टसँग पैसा माग्दैनन्। गाइड गरिसकेपछि टुरिस्टहरूले खुसी भएर आफैं दिन्छन्। तपाईंलाई गाइड चाहिएको छ, भन्दै आग्रह भने धेरैलाई गर्छन्।