राजनीति
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्। यद्दपि उनको राजीनामा स्वीकृत भए/नभएको खुलाइएको छैन। राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्।
गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्।
‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ,’ गजुरेलले खुलाएका छन्, ‘कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न।’
‘पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु,’ उनले लेखेका छन्।
माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ।