नेपालको राजनितिक आन्दोलनमा दलहरु माथिको प्रतिबन्धहरु लाई हेर्दा राणाहरुका विरुद्धको संघर्षमा नेपाली काङ्ग्रेस माथी प्रतिबन्ध , राजा महेन्द्रको कु पश्चात राजनीति दलहरु माथीको प्रतिबन्ध , कम्युनिस्ट पार्टी माथिहरुको प्रतिबन्ध , १० वर्षको जनयुद्धताका माओवादीहरु माथी आतंकवादी घोषणा सहितको प्रतिबन्धित र हाल आएर कथित कम्युनिस्टको सरकार द्वारा हाम्रो पार्टी ने.क.पा. माथीको प्रतिबन्ध लगाएको छ । नेपालमा राजनिती दलहरु माथीको प्रतिबन्ध कुनै नौलो विषय होईन तर इतिहासमा कुनै दिन जनताको अधिकारका लागि लडदा आफै प्रतिबन्धित भएका दलहरु र मान्छेहरु बाट नै जनताको अधिकारको माग गर्दै संघर्ष गरिरहेको दल माथी प्रतिबन्ध लगाईएको छ ।
कथित संघीय लोकतान्त्रिक गणतन्त्रको आवरण र नारामा दलालहरुले मौजमस्ती गर्दै जनताको रगत र पसिना माथी लुट मच्चाईरहेका छ्न । आफ्ना सबै कुकर्म र कुकार्यको ढाकछोप गर्न , जनताको ध्यान विकेन्द्रीत गर्न र साथै विचार , सिद्धान्त र कम्युनिस्ट आदर्शको राजनिती बाट च्युत भई विचार र सिद्धान्तमा प्रतिस्पर्धा गर्न नसक्दा ने. क. पा. माथिको प्रतिबन्ध लगाएर आफ्नो वास्तविक रुप देखाएका छ्न ।
हाम्रो पार्टी माथी लगाएको प्रतिबन्धको समयावधि हेर्दा झन्डै ६ महिना पुग्न लाग्यो केपि ओलिले प्रतिबन्ध लगाएको एक महिना भित्र नै नियन्त्रण गरि सक्ने कुरा निरन्तर बोलिरहे त्यो सङ्गै असाध्यै नानाथरीका तुच्छ टिप्पणी गरे तर हामी न्याय , समानता ,स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको यात्रा अविचलित अगाडी बढीरहेका छौ ।
प्रतिबन्ध नेपालको राजनितिमा नौलो थिएन तर ती सबै विषयहरू कथित कम्युनिस्ट नेतृत्वको सरकार र कथित लोकतन्त्र र गणतन्त्रको आवरणमा थियो फरक यति नै हो । प्रतिबन्ध पश्चात नेपालको राजनितिमा एउटा तरंग सिर्जना भयो सबै क्षेत्र बाट त्यसको विरोध भयो नेपालका वामपन्थी बुद्धिजीवीहरु , देशभक्त नेपाली नागरिकहरु , सच्चा लोकतन्त्र र गणतन्त्रवादीहरु र केही विदेशी क्रान्तिकारी मित्र शक्तिहरुले समेत ओलिबादल कम्पनीको निर्णयको विरोध गरे जसबाट केपिपिके कम्पनीले दुईतिहाईको दम्भमा लगाईएको प्रतिबन्ध आफै लाई निल्नु न ओक्ल्नु भयो ।
प्रतिबन्ध पछि हामी भित्र पनि एउटा तरंग पैदा भयो हामिले हाम्रो मनोबल लाई उच्च बनायौ र हाम्रो लागि त्यो कुनै अनौठो र अत्त्यास लाग्दो विषय पनि थिएन किनकी क्रान्तिको प्रक्रियामा ढिलो या चाडो राज्यमा लुट मच्चाउदै शासन गरिरहेकाहरुले हामी प्रतिबन्ध लगाउने नै थिए। प्रतिबन्ध पछि राज्यद्वारा व्यापक दमन गर्ने ,पार्टी सम्बध नेताकार्यकर्ता र शुभचिन्तकहरुको नाममा झुठो मुद्दा दर्ता गरि गिरफ्तार गर्ने , यातना दिने , आत्मसमर्पण गर्न बाध्य बनाउने शृङ्खला अगाडि बढयो र अहिलेसम्म चलिरहेको छ जस अन्तर्गत सयौं नेताकार्यकर्ता जेल र हिरासतमा राज्यद्वारा बन्दी बनाईएका छ्न ।
भोजपुरमा तिर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेल लाई गिरफ्तार गरि निर्ममतापुर्वक हत्या गरियो साथै मा नीर कुमार प्रतिरोध गर्दा सहिद हुनु भयो । काठमाडौमा नेपाल बन्दको पुर्वसन्ध्यामा वैशाख १२ गते चार जना साथिहरु महान , निरन्तर , प्रज्वल , दिपेन्द्रको सहादत भयो र पछि उपचारको क्रममा अर्को कमरेड रामकुमारको सहादत भयो , धनगढीमा कमरेड राम सिंहको सहादत भयो । कमरेडहरुको सहादतले हामीलाई असाध्यै भावविह्वल बनायो तरपनि हामिसङ्ग क्रान्ती र संघर्षको निर्ममता लाई स्विकारनुको विकल्प थिएन । कमरेडहरुको सहादतले क्रान्ति प्रतिको प्रतिबद्धता अझै दरिलो र कसिलो बन्यो त्यो सङ्गै अविचलित भई अगाडि बढिरहने प्रेरणा मिल्यो र हामी निरन्तर अगाडी बढी रहेका छौ ।
प्रतिबन्ध पछि राज्य द्वारा पन्चायतमा समेत नभएका हर्कतहरु भए हाम्रो सङ्गठन अखिल ( क्रान्तिकारी ) का विद्यार्थी नेताहरु माथीको दमन धरपकड समेत तिव्र रुपमा अगाडी बढयो कक्षाकोठा बाट विद्यार्थीहरु गिरफ्तार गरिए , परीक्षाकक्ष बाट गिरफ्तार गरिए , सल्यानमा कक्षा ०९ मा पढने चौध वर्षका पुष्कर सुनार गिरफ्तार भए त्यो सङ्गै संगठनका जिल्ला देखि केन्द्रिय स्तर सम्मका विद्यार्थीनेता कमरेडहरु गिरफ्तार हुनुभयो केही अहिले पनि जेल र हिरासतमा हुनुहुन्छ । जसका विरुद्धमा हाम्रो सङ्गठनले विभिन्न संघर्षहरु पनि गर्यौ । प्रतिबन्धकै बिचमा कम्युनिस्ट विद्यार्थी अभियान-०२ दुई संचालन गरेका छौ अभियानकै विचमा विभिन्न जिल्लाहरुमा पुग्दा एउटा नयाँ अनुभुती भएको छ । राज्यको लुटखसोट र भ्रष्टाचार प्रती युवाविद्यार्थी र आमजनताको आक्रोश असाध्यै बढेको छ । सरकारी पार्टी भित्र पनि लाभको पदमा भएका पार्टीको नेताकार्यकर्ता बाहेक अरु कोईपनी सन्तुष्ट छैनन । दलालहरु लाई चुनावताका भोट माग्नै ठिक्क हुन्छ जितेपछि आफ्नै मौजमस्तीमा व्यस्त हुन्छ्न ।
जलस्रोतमा विश्वकै दोश्रो धनी देश भएपनि गाउँबस्तीमा पुग्दा जनताको जीवन अझैपनि अध्यरोमा छ । पहाडी क्षेत्रका सडकहरु हेर्दा असाध्यै साघुरो छ्न , ठाँउठाँउमा भत्किएका छ्न र सडक दुर्घटनामा परि दिनानुदिन नागरिकले ज्यान गुमाउनु परेको छ । कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नसक्दा झन्डै ८०% जनता कृषिमा निर्भर भएपनी ६ महिना पुग्ने गरि खान पुग्दैन । गाउँका सरकारी विद्यालय र स्वास्थ्य सस्थाहरुको अवस्था दयनिय छ । आर्थिक अवस्था कमजोर भएकै कारण रोग पालेर मर्ने दिन कुरेर बसेका मानिसहरु पनि गाउँघरमा धेरै छ्न । स्थानिय जनप्रतिनिधिको भ्रष्टाचार , आफन्तवाद ,नातावाद र कृपावाद देखेर जनताले तिनिहरु लाई थुक्दै हिडिरहेका छ्न जसले गर्दा नेपालको राजनिती प्रती जनताको वितृष्णा बढेको छ र नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बोध गरिरहेका छन । जनताको हामी प्रतिको माया ,सदभाव र विश्वास बढदै गएको छ र प्रचण्डको जसरी धोखा नदिने गरि अगाडी बढन हामिलाई सुझाव सल्लाह दिईरहेका छ्न ।
यहि बिचमा हामी सहिदपरिवारहरुको घरमा पनि पुग्यौं उहाँहरूले देखाएको स्नेहले क्रान्ति प्रतिको दृढ़ संकल्प अझै कसिलो बनेको छ। प्रतिबन्धकै बिचमा केही डरछेरुवाहरु भागेपनी , आत्मसमर्पण गरेपनीखासमा हाम्रो पार्टीका आदरणीय नेता कमरेडहरु र सहयोद्धा कमरेडहरुले जेल र हिरासतको मोर्चामा देखाएको साहस , क्रान्ति प्रतिको दृढ़ संकल्प र आत्मविश्वासले वर्गवैरीहरु निरुत्साहित भएका छ्न र हामिलाई असाध्यै स्फुर्त ,उत्साहित र प्रतिबद्ध बनाएको छ ।
राज्यले हामिलाई प्रतिबन्ध लगाएको छ तर हामी लाई कुनै प्रवाह छैन । हामी निरन्तर जनताको विचमा छौ जनताको माया र स्नेहमा हुर्किरहेका छौ । महलमा बस्नेहरुले हामिलाई भुमिगत भनेपनी हामी सुकुम्बासी बस्तिमा छौ , जनताको झुपडीमा छौ र महलमा बस्नेहरुले झुपडीमा बस्नेहरुलाई नदेख्नु कुनै अनौठो र अत्त्यास लाग्दो विषय होईन । हामी बेपरवाह कहिले तराईका फाटहरुमा त कहिले सेती , महाकालीका छालहरुमा र कहिले साईपाल र अपिको काखमुनी सयौं पहाडहरु छिचोल्दै अगाडि बढीरहेका छौ र निरन्तर बढिरहने छौ । हामी हाम्रो आदर्शमा , विचार र प्रतिबद्धतामा एक इन्चपनि विचलित हुने छैनौ । हामी हाम्रा सहिदहरुले देखाएको बाटोमा रत्तिभर पनि डगमगाउने छैनौ । बलिदान दिनपरे पनि न्याय , समानता , स्वतन्त्रता र स्वाधीनता यात्रामा हामी अविचलित अगाडी बढदै हामी लडनेछौ , जित्नेछौ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ सन्देश प्रवाह गर्नेछौ ।
लेखक अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य हुन ।