logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मेस्सी सबैभन्दा बढी कमाउने खेलाडी, कति कमाउछन ‘टप’ ५ खेलाडीले


  • बिबिसी
  • बिहिबार, जेष्ठ ३० २०७६

बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन्।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० करोड पाँच लाख डलर कमाएका छन्।

अमेरिकी पत्रिका फोर्ब्सले खेलाडीहरूले जुन २०१८ देखि एक वर्षमा जितेको पुरस्कार, तलब र अन्य व्यावसायिक आम्दानी जोडेर सो सूची प्रकाशित गरेको हो। सन् १९९० मा सूची प्रकाशित हुन थालेयता शीर्ष स्थानमा तीन फुटबल खेलाडी रहेको यो पहिलो पटक हो।

अमेरिकी वर्चस्व

सबैभन्दा बढी कमाउने सय खेलाडीको सूचीमा ३८ जना गैरअमेरिकी छन्। सबैभन्दा बढी बास्केटबलका ३५ खेलाडी रहेको सूचीमा अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ तथा बक्सिङ, गल्फ र टेनिसका पाँच-पाँच जना रहेका छन्। सूचीमा रहेकी एक मात्र महिला खेलाडी टेनिसकी सेरेना विलियम्स ६३औँ स्थानमा छिन्। उनले गत वर्ष दुई करोड ९२ लाख डलर कमाएकी थिइन्।

एकमात्र दक्षिण एशियाली खेलाडी

सूचीमा दक्षिण एशियाबाट एक मात्र खेलाडी रहेका छन्। एक सयौँ स्थानमा रहेका भारतीय विराट कोहली सूचीमा क्रिकेटका पनि एक मात्र प्रतिनिधि हुन्। उनले गत वर्ष तलब र पुरस्कारमा ४० लाख डलर र व्यावसायिक कार्यबाट दुई करोड १० लाख डलर कमाएका फोर्ब्सले जनाएको छ।

सबैभन्दा धेरै कमाउने पाँच खेलाडी

१. लियोनल मेसी, फुटबल, १२ करोड ७० लाख डलर,

२. क्रिस्टियानो रोनाल्डो, फुटबल, १० करोड नौ लाख डलर, ३. नेमार, फुटबल, १० करोड पाँच लाख डलर,

४. क्यानेलो अल्भारेस, बक्सिङ, नौ करोड ४० लाख डलर,

५. रोजर फेडेरर, टेनिस, नौ करोड ३४ लाख डलर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार