logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दी पहिरो अपडेट: १७ को मृत्यु, २ सय २० सारियो


  • राजनीति
  • शनिबार, असार २७ २०७७

बिहीबार रातीदेखि परेको परेको अविरल वर्षाको कारण म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरो जाँदा १७ जनाको मृ’त्यु भएको छ । पहिरोमा परि हराइरहेका ३१ मध्ये १७ जनाको शव शनिबार भेटिएको हो ।

पहिरोमा पुरिएकाहरुलाई नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको छ । पहिरोमा परी बेपत्ता भएका भएकामध्ये १७ जना मृ’त अवस्था भेटिएको र बाँकी ३ जना घाईते अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा १७ जना मृ’त अवस्थामा र ३ जना घाईते अवस्थामा फेला परेको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका र घाईतेलाई प्रभु एयरको हेलिकप्टरद्वारा उद्दार गरी उपचारको लागि म्याग्दीकै बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । अन्य हराइरहेका व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जिल्लाको मालिका गाउँपालिका, ७ विमबाट ७ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको मालिका गाउँपालिका ७ विम दुलेका बिष्णु पौडेल, सोही गाउँपालिका विमकै गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाको छोरा, बिष्णु नेपाली र सन्दिप नेपालीको उद्धार गरिएको छ भने म्याग्दी धवलागिरी गाउँपालिका ०६ मराङ रिखाबाट १० जनाको शव निकालिएको छ ।

प्रहरीकाअनुसार मराङ रिखाबाट सुकना लामगादे, आशिष लामगाद, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, जनिमा के.सी.नामकी महिलाको १८ वर्षीय छोरा प्रकाश केसीको शव फेला परेको छ ।

यसैगरी, सोही ठाउँबाट ३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३६ वर्षिय पूर्णबहादुर नेपालीको जिल्ला अस्पताल बेनीमै उपचार भइरहेको छ । प्रहरीका अनुसार उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । यसैगरी, धवलागिरी गाउँपालिका ६ का २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षीय सफल श्रीपालीलाई उद्धार गरेर पोखरा मनिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । घाईते दुवै जनालाई पनि जिवितै उद्धार गरिएपनि दुवै जना बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले उल्लेख गरेको छ ।

साथै पहिरोको उच्च जोखिम भएका निम्म स्थान बस्ने २२० जना मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका, ३ गलेश्वर राहुँघाट खोला नजिकको बस्तिमा रहेका २१ घर धुरीका ८५ जना परिवारलाई गाउँपालिकाकै वडा नम्बर ३ स्थित रहेको गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ । त्यसैगरि, धवलागिरी गाउँपालिका, ६ कल्लेनी जहरेका ८९ जना व्यक्तिको उद्दार गरी धवलागिरी गाउँपालिका, ७ शिवाङमा रहेको हेम माध्यामिक विद्यालयमा ५० जना र अन्य ३९ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।

यसैगरि, मालिका गाउँपालिका, ५ देविस्थानका ३ घर धुरीमध्ये १३ जना र सोही ठाउँको वडा नम्बर ६ दरबार चाउटाका ६ घरधुरीको ३३ जना गरी जम्मा ४६ जनालाई जनप्रिय माध्यामिक विद्यालय दरबाङमा स्थानान्तरण गरिएको प्रहरीले उल्लेख गरेको छ । हराएका अन्य व्यक्तिको पनि खोजी कार्य जारी राखेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबू रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार