logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेना बिरुद्ध नेपाली सेनाका ५ तयारी, हेर्नुस्


  • राजनीति
  • मंगलबार, चैत्र ११ २०७६

कोरोना भाइरस कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तयारी तीब्र पारेको छ। सोमबार सेनाले एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा सम्भावित महामारीविरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको जानकारी गराएको छ।

सेनाले डाक्टरसहितको रथीवृन्द तथा अधिकृतहरुको ‘कोर टीम’ गठन गरेको छ। त्यस्तै सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आईसोलेसन वार्ड तयार गरेको छ। सरकारले सीमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरेको सेनाले जनाएको छ।

सेनाले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र विदा छुट्टी छाड्न मिलाएको छ। विदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा होम क्‍वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै डिउटी खटाउने बताइएको छ।ब्यारेकभित्रका सेनाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले बताए। सेनाको ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ। त्यस्तै सबै सेना ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ।

यस्तो छ सेनाको पाँच तयारी

१. हाल विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा सम्भावित महामारीविरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ। कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी कुनै Case आएमा नेपाली सेनाका (डाक्टरसहितको) रथीवृन्द तथा अधिकृतहरुसहितको Core Team गठन गरि सम्पूर्ण युनिट/सबै युनिटहरु तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाईएको छ।

२. नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरि Quarantine Camp Set up गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिईएको र उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरी स्थानीय स्तरमा Quarantine Camp Set Up गर्ने कार्य शुरु गरिएको छ। यसै क्रममा हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सिमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरिएको छ। विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ। कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि रोकथाम तथा न्युनिकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ। नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक PPE (Personal Protective Equipment), मास्क, पञ्जा तथा सेनिटाईजर उपलब्ध गराउन मिलाउनुका साथै नेपाली सेनाले माक्स पि.पि.इ. तथा सेनिटाईजरको उत्पादन समेत शुरु गरिसकेको छ।

३. कोरोना भाइरस (कोभिड-19) सम्बन्धि नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पि.टि. परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको छ। नेपाली सेनाका सकलदर्जालाई कोरोना भाइरस (कोभिड-१९) बारे जानकारी गराई विशेष परिस्थिती र आवश्यकताको आधारमा मात्र बिदा छुट्टी छाड्न मिलाईएको छ। बिदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा Indoor Quarantine मा राखी एकिन पश्चात डिउटीमा लिने व्यवस्था मिलाईएको छ भने कोरोना भाइरसविरुद्ध ब्यारेकभित्रका सकलदर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको छ। नेपाली सेनाको ब्यारेक हाताभित्रका वासस्थानहरुमा समेत खाटहरुको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था मिलाईएको र सकलदर्जालाई ब्यारेक हाताभित्र नै लक डाउन गरिएको छ।

४. विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्नसमेत नेपाली सेना तयार रहेको जानकारी गराईन्छ।

५. नेपाली सेनाले आवश्यक तयारी गरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र त्यसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार