राजनीति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउर्जामन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।
गत भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका रायमाझी १५ दिनपछि मंगलबार डिल्लीबजार कारागार फर्किएका हुन् । भदौं २४ मा केन्द्रीय कारागारबाट मात्रै रायमाझीसहित करिब ३३ सय कैदीबन्दी भागेका थिए ।
नेपालीलाई नक्कली शरणार्थी बनाई अमेरिका बनाउने आयोजनामा संलग्न रहेको आरोपमा रायमाझीमाथि मुद्धा चलिरहेको छ । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उनीसँगै सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि केन्द्रीय कारागारबाट भागेका थिए । पाण्डे भने हालसम्म सम्पर्कमा नरहेको जनाइएको छ ।