राजनीति
दाङ । नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका– ७ कालाखोला बस्ने ५७ वर्षीय बुद्धिबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको विरेन्द्र चोकमा बिहिवार राती करिब ९ बजे रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पार्टीको झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि एमालेले एक विज्ञप्ति जारी गरि गम्भीर ध्यानाकषर्ण भएको र झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग समेत गरेको थियो ।
भिडियो सार्वजनिक भएपछि बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । झण्डा जलाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको र यस विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।