राजनीति
काठमाडौं– सोमवारको स्थायी कमिटी बैठकमा नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम कडा रुपमा प्रस्तुत भएका छन् ।
सोमवारको वैठकमा पार्टीमा आफूले प्रस्तुत गरेको फरक मतलाई सार्वजनिक कार्यक्रममार्फत टिप्पणी गरिएको भन्दै आक्रोश पोखे ।
शनिवारको वैठकमा नेता गौतमले पार्टी सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिनुपर्ने आसयको फरक मत राखेका थिए । आइतवार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमको फरक मतलाई संकेत गर्दै भनेका थिए, ‘संविधानले मिल्दैन, नत्र दुईओटा प्रधानमन्त्री बनाउन पनि हुन्थ्यो ।’
प्रधानमन्त्री ओलीको ‘व्यंग्य’ले आक्रोशित बनेका नेता गौतमले सोमवारको वैठकमा संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउन मिल्ने प्रावधान राख्न चुनौती दिए ।
सोमवारको वैठकमा गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले पार्टीको वैठकमा राखिएको आफ्नो फरक मतको मजाक उडाइएको भन्दै आक्रोश पोखेका थिए । ‘पार्टीको आन्तरिक वैठकमा राखेको फरक मतबारे प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ,’
प्रधानमन्त्री केपी ओलीले संसारमा कहीँ पनि नभएको व्यवस्था नेकपामा रहेको र यो सामान्य विषय नभएको उनको भनाइ थियो ।
‘संविधानले दिने भए दुवैजना प्रधानमन्त्री हुन्थ्यौं ।’ओली
‘विश्वमा कुनै पनि पार्टीमा दुईवटा अध्यक्ष छैनन्, दुई अध्यक्ष मिलेर पार्टी चलाएको इतिहास पनि छैन, जुन हामीले गरिरहेका छौं,’ ओलीले भने । कतिपयले पार्टीमा टूटफूटको सपना देखेको ओलीको भनाइ थियो । ‘स्थायी कमिटीको बैठकबाट अध्यक्ष फेर्ने हल्ला फिजाइएका छन्,’ ओलीले भने,‘कहाँबाट को आउने हो मैले देखेको छैन, हाम्रो पार्टीमा त्यस्तो कुरा र चर्चा पनि छैन ।’
‘दुई अध्यक्षको अनौठो प्रणाली छ, हाम्रो । बुज्रुवाहरू आफूलाई डेमोक्र्याट भन्छन्, एउटा जंगलमा दुईवटा बाघ रहन सक्दैनन् झगडा गर्छन् भन्दै हिँडेका छन्, तर यहाँ त एउटा जंगलमा दुईवटा जल्दाबल्दा बाघ छन्,’ ओलीले भने ।
यहाँ लडाईं झगडा गर्न सकिन्छ कि यी कुर्सी (दुई अध्यक्षको कुर्सी)लाई पर सार्न सकिन्छ कि भनेर केही तत्वहरू लागिरहेको ओलीको भनाइ थियो । वर्तमान सरकारको संकल्प अधिकार कब्जा गर्ने नभई देश बनाउने र देशलाई रूपान्तरण गर्ने भएको ओलीले बताए ।
ओलीले प्रचण्डतिर फर्किएर भने ‘संविधानले दिने भए दुवैजना प्रधानमन्त्री हुन्थ्यौं ।’