राजनीति
शुक्रबार पोखरामा पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ।
पोखरामा रहेका पूर्वराजासँग शुक्रबार बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्म दोबिल्लामा रहेको माउण्ट ग्लोरीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भेटघाट भएको हो।
थापाले ट्विटरमार्फत पूर्वराजासँग भेटेको जानकारी सार्वजनिक गरेका छन्। भेटको क्रममा भएको कुराकानी सार्वजनिक नभए पनि थापाले ट्वीटमा भनेका छन्, ‘पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो। मुलुकको बिग्रँदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ।’
राजतन्त्रको हिमायती थापाले पूर्वराजलाई ‘राजा’ नै भनेर सम्वोधन मात्र गरेका छैनन्, मूलुकको बिग्रँदो अवस्थाप्रति ‘‘चिन्तित’ रहेको समेत उल्लेख गरेकाले भेटघाटमा समसामयिक राजनीतिबारे कुरा भएको प्रष्ट भएको छ।
निजी भ्रमणको क्रममा पोखरामा रहेका पूर्वराजाले शिव सेना, राप्रपाकै पुराना नेता कार्यकर्ताहरुलाई भेटिरहेका छन्। उनी शनिबार विन्ध्यवासिनी मन्दिरमा पूजा गर्न जाँदैछन् भने मन्दिर जाने क्रममा पनि उनले सर्वसाधारणलाई भेट्ने कार्यक्रम छ।
हिन्दु मठमन्दिर धाउँदै गरेका राजा र हिन्दुराष्ट्रको मागसहित आन्दोलनमा होमिन लागेका थापाबीच सम्भवत् राप्रपाको भावी रणनीतिबारे पनि छलफल भएको राप्रपा निकट स्रोतले अनुमान लगायो ।