राजनीति
माओ दिवसका अवसरमा बुधबार काठमाडौँको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ का बारेमा वरिष्ठ राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरूले माओका योगदानहरूका बारेमा चर्चा गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले संशोधनवादी तथा आत्मसमर्पणवादी प्रचण्डप्रवृत्ति जन्मिनबाट पार्टीलाई बचाउनका लागि राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति सुरु गर्नुपर्ने बेला आएको बताए ।
सरकार र नेकपाबीचको वार्ताका बारेमा बोल्दै नेता सुदर्शनले प्रचण्ड र केपीले आफ्नो पार्टीलाई फसाउनका लागि वार्ताको कुरा गरेको प्रस्ट पारे । उनले भने, ‘हामीलाई तराईको सीके राउतसँग मिसाएर वार्ता गर्ने भनेका छन्, त्यो गलत छ । अहिले वार्ताको कुनै औचित्य छैन । सत्ताधारीहरू जब हार्ने अवस्थामा पुग्छन् तब मात्र वार्ताको कुरा गर्छन् । वार्ताको कुरा गर्दा हाम्रो ८० प्रतिशत भूगोलमा चलेको जनसत्ता, ४० हजार जनमुक्ति सेनाको विषय के हुन्छ ? १७ हजारको बलिदानी भएको छ, त्यसको मूल्य के हो ? यी सबै विषयहरू छन् ।’
प्रचण्ड र केपी काङ्ग्रेसजत्तिको पनि इमानदार नभएको भन्दै नेता सुदर्शनले निर्मलाका हत्यारालाई किन कारबाही नगरिएको भनी प्रश्न गरे । कम्युनिस्ट विचारको मूल्य–मान्यता नराख्ने नेपालका नामधारी कम्युनिस्टहरूको भारतका ज्योति बसुका मान्छेजत्तिको पनि नैतिकता नरहेको उनको विश्लेषण थियो । उनले भने, ‘ज्योतिका मान्छेले त कम्तीमा भैँसीपूजा गर्दैनन् । चीनमा सी जिङ पिङले चर्च भत्काउँदै हिँडेको बेलामा नेपालमा दलालहरू माक्र्सवादी आदर्श, मूल्य र मान्यताबाट विचलित भएर होली वाइन खान पुगेका छन् ।’