राजनीति
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । [१] प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारापनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
तमु पात्रो
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् ।[३] वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।
मुसा वर्ग (च्यु-ल्हो)
गाई वर्ग (ल्वोँ-ल्हो)
बाघ वर्ग (तो-ल्हो)
बिरालो वर्ग (हि-ल्हो)
गिद्द वर्ग (मुप्री-ल्हो)
सर्प वर्ग (सप्री-ल्हो)
घोडा वर्ग (त-ल्हो)
भेंडा वर्ग (ल्हु-ल्हो)
बादर वर्ग (प्र-ल्हो)
चरा वर्ग (च्हया-ल्हो)
कुकुर वर्ग (खि-ल्हो)
मृग वर्ग (फो-ल्हो)