logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

श्रीमान होइन समाजवाद चाहिएको छ !


  • सुनिता वम 'कामना'
  • मंगलबार, पुष १७ २०७५

गर्भमै गुनासो सुन्छिन आमा
अत्यास अनासमा रुन्छिन आमा
परिबन्धको परिधि नाग्नु कठै
कोखको हत्यारा हुन्छिन् आमा
मेरी स्टोभ सम्म पुर्याएनन भने
ओखती किनेर खुवाएनन भने
जन्मिन्छु अवला छोरी बनेर
हेपिन्छिन आमा अलच्छिनी भनेर
युगौ देखि उनलाइ यहि सिकाइएको छ
किनकि मेरो समाजलाइ छोरा चाहिएको छ ।

कम्जोर ज्यानमा नुन रोटी खादा
रगतको धारा मै घासदाउरा जादा
खाली खुट्टामा हुन्छ एकसरो फरिया
घोटिन्छीन दिनरात एक्ली भरिया
छैटीमा हुदैन तेल अनि पाक्दैन सेल
सुनसान हुन्छ आगन लाग्दैन खेल
छोरी जन्माउनेको दिन रोएरै कट्छ
छोरा हुनेको गुणगान सुखसैल बढ्छ
वर्षौ देखि वश धान्ने यस्तै गित गाइएकोछ
किनकी मेरो समाजलाइ छाेरा चाहिएको छ ।

पढ्ने र बुझ्ने सपना हुन्छन
मिल्दैन मौका कति छोरी रुन्छ्न
माथीकी माइली सग मेलो र पर्म
आमालाइ सघाउने छोरीको कर्म
सोचे यस्तै भोगेर कति छोरी मरे
ढोका बन्द हुन्थ्यो झ्याल बाट झरे
पुगेर मोर्चामा गाउ डुल्दै थिए
मुक्तिको मार्गमा जाउ भन्दै थिए
कुन बेला कसरी मैले जान्न थाले
म सग कोहि छ भनी मान्न थाले
साथी जस्तो बनेर साथैमा लियो
अर्को दिन देखी निर्देशन दियो
सोच्यो होला साथी होइन स्वास्नी पाइएको छ
किनकि मेरो समाजलाइ पुरुष चाहिएको छ ।

आफ्नो हर स्वार्थमा कला देखाउछ
मेरो एक इच्छाको गला समाउछ
म घरको दासी कर्तव्य ठान्छ
चोट उहि दिन्छ नुन छर्दै जान्छ
आगनी काट्यो के के सोच्छ बोल्छ
देखाउने लुकाउने दुइ थरी मोल छ
बन्द गर आखा कतै नहेर भनि
अनुमती लिनु रे सास फेर्न पनि
सोझो झै लाग्ला बाहिरी फेर हेर्दा
अइया सम्म भनिन गला नै सेर्दा
भनौ की क्याहो ? आगनमा आएर
कतिले सुनाउछन भजन झै गाएर
घर घरमा हिजोबाटै यस्तै पढाइएको छ
किनकि मेरो समाजलाइ पुरुष चाहिएको छ ।

रगतको धम्की खुसीको चिहान
कसरी देख्छौ खै उज्यालो बिहान
माइतीलाइ हुन्छ इज्जतको ध्यान
कति बन्नु अचानो छोरीको ज्यान
अगुवालाइ पनि खानदानी चासो
बोकेरै बस्नु रे  गलामा पासो
सुनाउन बुझाउन केहि बाकी हुन्न
म ज्युदै जल्दानी कसैलाइ छुन्न
लडियो सदैव सोचिएन केहि
आज त कमजोरी ठानियो त्यहि
सधै हार्नुछ महिलाले मर्दलाइ जिताइएको छ
किनकी मेरो समाजलाइ पुरुष चाहिएको छ ।

मेरो नि ज्यान हो थोरथोरै ज्ञान भो
लुकाएर बस्नु मेरो त्यही काम हो ?
प्रश्न आफैमा जवाफ खोज्दै गए
निष्कर्ष सुनाउदा म एक्लै भए
यहा पुरुषलाइ रङ्ग्याइएको छ
महिलालाइ नङ्ग्याइएको छ
भोग्नलाइ बाकी केहि हुन्न जब
जति भो अति भो सहन्न अब
बालेर मसाल समानता खोज्छु
बाच्ने र बचाउने मुलबाटो रोज्छु
बलिदान प्यारोछ पितृसत्ता भन्दा
बोकेर हिड्छु त्यही लाल झण्डा
सल्काउनु छ सस्कार जहा गलत बुझाइएको छ
महिलालाइ श्रीमान र छोरा होइन मुलुकलाइ योद्धा चाहिएको छ, किनकी म र मेरो देशलाइ साचो समाजवाद चाहिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार