राजनीति
प्राकृतिक बिपत्ति , सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायका कारण सन २०१८ ति हृदयबिधारक घटनाबाट अछुतो रहेन।
सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो। गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो। यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो।
यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो।
दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो।
त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो। नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्वसाधारणले ज्यान गुमाउन पुगे।
असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए।
जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो।
डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु पर्यो।
कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो। भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयबासी बेपत्ता हुन पुगे।
धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो। तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्को गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो। साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो।
असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो। गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो।
मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए।
माघमा छोरा डा. रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए।
बाढीपहिरोको क्षतिले गर्दा पनि सन् २०१८ दुःखद बन्न पुग्यो। सुतिरहेका बेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे।
राति सुतिरहेका बेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भयो। भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँच जनाको मृत्यु भयो।
साउनमा वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकाको ठाँटी बजारका दुई घर पुरिंँदा सात बालबालिका सहित ८ जनाको मृत्यु भयो। उक्त पहिरोमा एकै घरका ४ जना परेका थिए।
गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ मैलुङपाखामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो। भाग्यवश एकजना बाँच्न सफल भए। यस्तै जेठमा मकालु एयर जहाज हुम्लामा दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गुम्यो।
यस्तै कालिकाेटकाे पलाता गाउपालिका स्थित खाडा गाउँ का करिव ८९भन्दा बढी घर अागलागिबाट नष्ट भए अादा दर्जनबढी घाइते तथा कराेडाैकाे क्षेति हुन पुग्याे।