राजनीति
संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकप्रति डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्।
डाक्टर केसीले आफ्ना अध्यक्षहरूले खाएको मार्सी चामलको भातको मूल्य चुकाउन नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू सहमति विपरित विधेयक पारित गरेको बताए।
आफूले खाएको मार्सी चामलको मूल्य चुकाउन माफियाका पक्षमा ‘नेकपाका अध्यक्षहरूले विधेयक पारित गर्न लगाए।’
गत फागुन ६ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा मार्सी चामलको भात खाएर बैठक गरेका थिए।
प्रसाईंको झापामा बिएमसी अस्पताल छ। उनी यो अस्पताललाई मेडिकल कलेज बनाउन चाहन्छन्।
समितिले पारित गरेको विधेयकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन दिन नपाइने केसीसँगको सम्झौताविपरित आशय पत्र लिइसकेका काठमाडौंबाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने उल्लेख छ। विधेयकको यो व्यवस्था संसदबाट पनि पारित भए प्रसाईंको मेडिकल कलेजले तत्कालै सम्बन्धन पाउँछ।
डाक्टर केसी अबको आफ्नो लडाइँ ऐन बनाउने विषयमा नभई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालविरूद्ध हुने बताए।
यसअघि बुधबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिले ४ संसदको फरकमत हुँदाहुँदै बहुमतबाट विधेयक पारित गरेको थियो।