राजनीति
बलेवा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पर्वतको मालढुङ्गामा बस दुर्घटना ७ को मृत्यु
म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग१ख ६१०८ नंको बस दुर्घटना हुँदा मृत्यु भएका सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिनुभएको छ,
धौलागिरीको बागलुङ र पर्वतको सिमाना मालढुङगा नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ।
म्याग्दीको बेनी बजारबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै भएको थियो। अन्य चारजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का वर्ष २१ का राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का ३२ वर्षीया विषमाया पुनको मृत्यु भएको छ भने एक पुरुषको सनाखत हुन नसकेको बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।
धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा भने पर्वत जलजला गाउँपालिका ८ का ५० वर्षीय टिका परियार, उनकी श्रीमती ४० वर्षीया सेती परियार, बागलुङ नगरपालिका ४ कुडुलेकी ४८ वर्षीया शान्ति केसी रहेका छन्। मृतक एक पुरुषको सनाखत हुन बाँकी छ।
घाइतेमध्ये चार जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। गम्भीर घाइतेमध्ये हेलिकप्टरमार्फत् एक जनालाई पोखरा र दुई जनालाई काठमाडौं पठाइएको छ।
अरु चार जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी छ। गम्भीर घाइते भएका मध्ये २३ जनालाई भने सवारी साधनमार्फत् अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिए।
बस सडकबाट करिब १ सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।