राजनीति
पोखरा– स्ववियुमा विधानविपरीत बसेका पदाधिकारीलाई प्रशासनले नहटाएको भन्दै पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघले पुस २३ देखि गरेको तालाबन्दी अझै खुलेको छैन । प्रशासनिक कामकाज तालाबन्दी हुँदा दुई सातादेखि ठप्प छ ।
नेपाल विद्यार्थी संघले पोखराको ढुंगेपाटनस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। नेविसंघले उपकुलपति चिरञ्जीवी शर्मा, रजिस्ट्रार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगाना र चार संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
उनीहरूले प्रयोग गर्ने सवारीसाधनको चाबी उनीहरूकै कार्यकक्षमा थुनिएको छ । सेवा आयोगको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, लेखा र प्रशासन कार्यालयमा समेत तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प छन्। पढाइ भने सञ्चालनमै छ । सैद्धान्तिक परीक्षा सकिएपछि स्ववियुबाट विधानतः पदमुक्त हुनुपर्ने नेविसंघको माग छ ।
छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण
गलकोट- दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् । बागलुङ नगरपालिका–३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौराकुमारी खत्रीसहित उहाँको परिवारले स्व छोरा हिराबहादुर खत्रीको स्मृतिमा गाउँमा उक्त कार्य गरेका हुन् ।
विसं २०३९ चैतमा जन्मिएका हिराबहादुर खत्रीको १६ वर्षकोे उमेरमा २०५५ जेठ १७ गते दुर्घटनामा परी निधन भएको थियो । स्व खत्रीका भाइ भीमबहादुर खत्री, बुहारी सावित्री खत्री, भतिज भोजराज खत्री, बहिनी धनमाया खड्का र भीमा खत्रीसहितले रु ९७ हजार ७५१ खर्च गरेर धारा र बाटो बनाएका हुन् । खहरेका करीब २० परिवारले खानेपानी र सरसफाइका लागि प्रयोग गर्ने उक्त धारो निर्माणका लागि स्थानीय हिराबहादुर कार्की र उजेली कार्कीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएको थियो । उक्त धारो र गोरेटो बाटोको सङ्घीय सांसद मनकुमारी केसीले शुक्रबार उद्घाटन गर्नुभयो