logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हिमपात परे पछी हुम्ला र बाजुराको जनजीवन प्रभावित


  • राजनीति
  • मंगलबार, माघ ८ २०७५

हुम्ला- सोमबार रातिदेखि अचानक हिमपात परे पछी हुम्लाको जनजीवन प्रभावित भएको छ ।हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । स्थानीयवासीलाई अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुगेको बताइेको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरी नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द

हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ । जिल्लामा भारी हिमपात हुँदा पढाइ बन्द गर्नुपरेको मानसरोवर माविका शिक्षक धनबहदुर ऐडीले बताउनुभयो । यसअघि हिमपात हँुदा ‘ट्युसन’ सञ्चालन गरिए पनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हुरीले पढाउन नसकिएको शिक्षक ऐडीले बताउनुभयो ।

बाजुरामा हिमपात

बाजुरा – बाजुरामा हिमपात भएको छ । हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो ।

मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिनुभएको छ । मान्छेको आवतजावतसमेत रोकिएको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार