राजधानी काठमाडौको गोंगबुस्थित हिजो मात्र एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको रहस्य सार्वजनिक भएको छ ।
मंगलवार प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ ।
गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।
तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’