सत्तारुढ दल नेकपामा शिर्ष तह देखी तल सम्म तिब्र गुटबन्दी मात्र देखिएकोछ ।
सत्तासिन दल नेकपाको केन्द्रीय सचिवालयमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन् । जसमा साविकको एमालेका छ जना र माओवादीकेन्द्रका तीन जना छन् । साविक एमालेका छ जनामध्ये पनि अध्यक्ष ओली निकट तीन जना र माधव–झलनाथ पक्षका तीन जना छन् ।
उक्त दलको गत महिना बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा देखिएका विवाद अन्त्यका लागि प्रस्ताव तयार पार्न नौ सदस्यीय कार्यदल निर्माण गर्यो, जसमा पार्टीभित्रका तीन मुख्य गुटको समान प्रतिनिधित्व गराएको देखिन्छ । पहिलो भुमिकामा रहेकाबअध्यक्ष ओलीनिकट महासचिव विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ राखिए, तथापि महासेठ लामो समयदेखि वामदेव गौतमसँग निकटता भएका मानिन्थे । नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका पूर्व माओवादीहरू रामबहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट थिए । वरिष्ठ नेता माधवकुमार नेपाल ‘समूह’ बाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र वेदुराम भुसाल परे । अहिले नेकपामा ओली, दाहाल र नेपाल ‘समूह’ लाई समान तागतका रूपमा ‘सम्बोधन’ गर्ने गरिएको सबै सामु छर्लङ्ग छ ।
तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष केपी ओलीपछि दोस्रो बरियतासहित ‘वरिष्ठ नेता’ बनेका थिए– पूर्व अध्यक्ष झलनाथ खनाल तर पार्टी एकतापछि ओलीसँग अध्यक्षमा पराजित पूर्व महासचिव माधवकुमार नेपाल मर्यादा क्रममा खनालभन्दा अगाडि आए । अहिले दुई अध्यक्षपछि तेस्रो नम्बरमा पूर्व महासचिव नेपाल र त्यसपछि चौथो नम्बरमा खनाल राखएका छन् । राजनीतिमा खनालभन्दा नेपाल सशक्त र सक्रिय त छन् नै, साथै आफ्नो गुटका मुख्य नेताको भूमिकामा नेपाल छन् । खनाल चाहिँ ‘अवकाश’ को मनस्थितिमा छन् । त्यसले मर्यादाक्रम फेर्न काम गरेको नेकपाका दोस्रो पुस्ताका नेताहरूको मूल्यांकन छ । गत महिना सम्पन्न स्थायी कमिटी बैठकमा माधव–झलनाथ–घनश्याम भुसाल समूहमा वामदेव गौतम पनि थपिएपछि यो समूह थप ‘सबल’ हुँदै दुई अध्यक्षलाई चुनौती दिनसक्ने गरी बलियो बनेको अनुमान नेकपाको सिङ्गो पार्टी पंक्ति भित्र चलेको छ ।