अनसनरत डाक्टर गाेबिन्द केसीले आफ्नाे सत्याग्रहलाइ निरन्तरता दिने भएका छन्। सरकारले चिकित्सा शिक्षा विधेयक जबर्जस्त पारित गरेकोमा आपत्ति जनाउँदै डा. केसीले अनशन जारी रहने बताएका छन्। उनले प्रधानमन्त्री को राजीनामा समेत मागेका छन्।
अनशनस्थलबाटै प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले ‘नेपाली नागरिकमाथि सुनियोजित धोका भएको भनेका छन्।’ आफैले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री ओली च्युत भएको उनले बताए। ‘आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ विज्ञप्तिमा भनिएकाे छ।
१७ दिन (पुस २५)देखि शिक्षण अस्पतालमा अनशनरत छन्। पन्ध्रौं सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार विधेयक संशोधन गरी पारित गर्न माग गर्दै उनी सोह्रौं बसेका हुन्।
विधेयक पारित गर्ने बेला सत्तारुढ दलले जालझेल र जर्बजस्ती गरेको डा. केसीले दाबी गरेका छन्। प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकूल विधेयक पारित गरेको डा. केसीको जिकिर छ। ‘सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारभन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरूको स्वार्थलाई दिएको पुष्टि भएको छ,’ विज्ञप्तिमा छ।
विधेयक पारित हुने बेला सत्याग्रहको पक्षमा प्रदर्शन गरेका नागरिकलाई धरपकड र गिरफ्तार गरिएकोमा सकुशल रिहाइको माग गर्दै डा. केसीले आफ्नो अभियानमा सहभागी हुन खुला अपिल गरेका छन्।
चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि डा. केसी सातवर्षदेखि पटकपटक अनशन बस्दै आएका थिए। उनले गरेको अनशनकै प्रतिफल स्वरूप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्था आएको हो।। चिकित्सा शिक्षा विधेयकका अतिरिक्त बाँकी ६ वटा माग पूरा गर्न उनले स्मरण गराएका छन्।
पन्ध्रौं अनशनका बेला सरकारले गत साउन १० गते डा. केसीसँग सम्झौता गरेको थियो। प्रधानमन्त्री केपी ओलीको पहलमा नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ सम्झौतामा साक्षीका रूपमा रहेका थिए।
चिकित्सकहरूको ऐक्यबद्धता
डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन्। चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सम्झौताविपरीत विधेयक पारित गरेर सरकारले झुक्याएको बताए।
उनले भने, ‘डा. केसीसँग सरकारले सम्झौता गरी कार्यान्वयनमा झुक्यायो। राज्य नै पेल्ने ढंगले देखा पर्यो। आन्दोलनको विकल्प रहेन।’ डा. केसी अनशनरत शिक्षण अस्पताल प्रांगणमा आइतबार दिउँसो काठमाडौं उपत्यकाका अस्पतालका चिकित्सकलाई भेला हुन आह्वान गरेको छ।
आवासीय चिकित्सकहरू आकस्मिक सेवाबाहेकका अन्य सेवामा सहभागी नहुने अडान लिएका छन्।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकार र डा. केसीबीच भएको सम्झौताअनुसार विधेयक पारित भए–नभएको विषयमा सम्झौता गर्नेले प्रस्ट्याउनुपर्ने बताए। ‘कि सम्झौता नगर्नू, गरेपछि कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने। आजकाे अन्नपूर्ण पाेष्टमा छ।