राजनीति
काठमाडौं- गएको पुस मसान्तसम्ममा संगठनात्मक एकीकरण प्रक्रिया टुंग्याउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले माघ दोस्रो हप्तासम्म पनि एकताको खाका तयार पार्न सकेन ।
माघ ३ गते नेकपा गठन भएको ९ महिना पूरा भयो ।९ महिनाको अवधिमा नेकपाले एकीकरणको काम सक्न चार कार्यदल निर्माण गर्यो । १६ जेठमा अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै सात प्रदेश, एक प्रवास र ७७ जिल्ला तथा २२ जनसंगठनमा एमाले र माओवादी केन्द्रका दुईदुईजना सदस्य रहेको कार्यदल गठन गर्यो । १५ दिनभित्र एकीकरणको प्रस्ताव तयार पार्न भने पनि भदौ मसान्तसम्ममा पनि ती कार्यदलले जिम्माको काम पूरा गरेनन् । एकाधबाहेक ती कार्यदलले प्रतिवेदन नै बुझाउन सकेनन् । प्रदेश तहमा गठित १ र २ नम्बर प्रदेश कार्यदलले प्रतिवेदन नै बुझाएनन् ।
कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया टुंग्याउन नसकेपछि तल्लो तहका कमिटी एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मा २८ भदौमा बसेको पार्टी सचिवालयको बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दियो । ५ असोजमा बसेको पार्टी सचिवालयको बैठकले सात वटै प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन ग¥यो । तर, गण्डकी र पाँच नम्बर प्रदेश इन्चार्ज मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकालाई दिइएको भन्दै नेता नेपाल समूह रुष्ट बन्यो ।
प्रदेश कमिटीको संरचना निर्माण गरेपछि पनि पार्टी एकताले गति लिन सकेन । ८ कात्तिकमा बसेको सचिवालय बैठकले विष्णु पौडेल र रामबहादुर थापा बादल रहेको अर्को कार्यदल गठन गर्यो । त्यसले प्रदेश कमिटीलाई पूर्णता दियो ।
विधानतः ३ महिनामा डाक्ने भने पनि नेकपाको स्थायी कमिटीको बैठक २१ असारदेखि बस्न सकेन । ६ महिनापछि २८ मंसिरमा स्थायी कमिटीको बैठक बोलाइयो । १२ गते सकिएको स्थायी कमिटीको बैठकले पुनः ९ सदस्यीय कार्यदल बनाएर १५ दिनभित्रमा संगठनात्मक एकीकरण सक्ने कार्यादेश दिइयो । तर, एकमहिनासम्म पनि कार्यदलले जिम्मेवारी पूरा गर्न सकेको छैन ।